कांग्रेसले भ्रातृसंघका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका र अधिवेशन गर्न सक्ने आधार पनि नदेखिएका भ्रातृसंघका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गरेको निर्णयमा लेखिएको छ, ‘पार्टीले निश्चित कार्यादेशसहित निर्देशक समिति बनाउँदासमेत अधिकांश भ्रातृ संघले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेको र अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएकाले म्याद थपिरहनु आवश्यक नरहेको । निर्णयमा महाधिवेशन गर्न नसकी अध्यक्ष हटाएका र केन्द्रीय कार्यसमिति विघटन गरिएका भ्रातृ संघ कुन–कुन हुन् भन्ने खुलाइएको छैन, तर निर्णयमा पार्टीको २०८२ असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका लागि कार्यतालिका प्रस्तुत गरेका संघहरूको हकमा कार्यतालिकामा तोकिएको समयसम्म महाधिवेशन गर्नेगरी समयावधि थप गर्ने निर्णय गरेको थियो । त्यो बैठकमा महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूले ०८२ पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गरिसक्ने कार्यतालिका पेस गरेका थिए । अहिलेसम्म पनि महाधिवेशन नगरेको र गर्ने आधार पनि नदेखिएपछि त्यस्ता भ्रातृ संगठनका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने निर्णय कार्यसम्पादन समिति बैठकबाट गरिएको हो । अध्यक्ष हटाइएका र केन्द्रीय समिति विघटन गरिएका ५ भ्रातृ संघ छन् । सहमहामन्त्री योगेन्द्र चौधरीले दिएको जानकारी अनुसार तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ र लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष हटाउने र केन्द्रीय समिति विघटन गर्ने निर्णय कार्यसम्पादन समितिले गरेको हो ।

यी संघमध्ये तरुण दल अध्यक्ष विद्वान गुरुङ र दलित संघ अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिइसकेका छन् । महाधिवेशन सम्पन्न गर्न गठित तदर्थ समिति भएकाले यी दुई संघका केन्द्रीय समिति स्वतः विघटन भइसकेका थिए । तरुण दल अध्यक्ष गुरुङले वैशाख १६ गते र दलित संघ अध्यक्ष विश्वकर्माले वैशाख २१ गते पदबाट राजीनामा दिएका थिए । महिला संघ अध्यक्षमा उषा राउत मिश्र, नेपाल विद्यार्थी संघ अध्यक्षमा दुजाङ शेर्पा र लोकतान्त्रिक खेलकुद संघ अध्यक्षमा देवेन्द्र शेरचन थिए । यी भ्रातृ संगठनलाई कांग्रेसले यसअघि २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने भनि समयसीमा दिएको थियो । त्यसपछि फेरि कार्यतालिका पेस गरेकाहरूलाई अन्तिम पटक भन्दै निर्देशन समिति बनाएर त्यही समितिको सिफारिसमा उनीहरूको कार्यतालिकामा महाधिवेशनको मिति उल्लेख भएको समयसम्म म्याद थपिएको थियो । कार्यसम्पादन समिति बैठकले अधिवेशन नभएका भ्रातृ संघहरूको महाधिवेशन गर्न आवश्यक व्यवस्था गर्ने जिम्मेवारी सभापति गगन थापालाई दिएको छ । ‘नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम अधिवेशन नभएका सबै भ्रातृ संघहरूको महाधिवेशन गर्न आवश्यक व्यवस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी प्रदान गर्ने,’ बैठकपछि पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले भ्रातृ संघलाई व्यवस्थित ढंगले अगाडि बढाउनका लागि आवश्यक निर्णय गरिएको जानकारी दिए । ‘हामी छिटै व्यवस्थित ढंगले भ्रातृसंस्थालाई अगाडि बढाउनेछौँ,’ महामन्त्री पौडेलले भने, ‘नीतिगत र विचारगत पक्षबाट सशक्त बनाउनेगरी पार्टीले सहजीकरण गर्नेछ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *