चलचित्रकर्मीको साझा घर बनुन् पेशागत सङ्घहरू

कोइराला रमेश
नेपाल चलचित्र उद्योग केवल पर्दामा देखिने कलाकारहरूको संसार मात्र होइन, यो हजारौँ सपना, सङ्घर्ष, सिर्जना र श्रमले बनेको एउटा विशाल परिवार हो। निर्देशक, कलाकार, लेखक, छायाकार, प्राविधिक, सङ्गीतकर्मी, मेकअप आर्टिस्टदेखि लिएर पर्दा पछाडि पसिना बगाउने हरेक व्यक्ति चलचित्र उद्योगका आधार स्तम्भ हुन । त्यसैले यो क्षेत्रसँग सम्बन्धित पेशागत सङ्घ–संस्थाहरूको भूमिका केवल सङ्गठन निर्माणमा मात्र सीमित होइन, सम्पूर्ण चलचित्रकर्मीको आत्मसम्मान र अधिकारसँग जोडिएको विषय पनि हो। आज नेपालमा नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार सङ्घ लगायत विभिन्न विधागत सङ्घ–संस्थाहरू सक्रिय छन् । यी संस्थाहरूको स्थापना मूलतः कलाकार तथा चलचित्रकर्मीहरूको पेशागत हकहित, सुरक्षा,सम्मान र एकताका लागि गरिएको हो। यो अत्यन्त सकारात्मक पक्ष हो। एउटा व्यवस्थित उद्योग निर्माण गर्न यस्ता संस्थाहरू आवश्यक छन् । तर प्रश्न यहाँ उठ्छ के यी संस्थाहरू साँच्चै सबै चलचित्रकर्मीको साझा घर बन्न सकेका छ नत ? के जिल्ला जिल्लामा रहेका, नव प्रतिभाहरू, कुनै दिन सङ्घर्ष गर्दै पहिचान बनाएका र निरन्तर चलचित्र क्षेत्रमा सक्रिय व्यक्तिहरू संस्थाको पहुँचमा छन् त ? वा संस्था सीमित समूह, सीमित पहुँच र निर्वाचन केन्द्रित संरचनामा मात्र अल्झिएको त छैन ? आज धेरै चलचित्रकर्मीहरू आफूलाई उद्योगको हिस्सा त मान्छन्, तर संस्थाले आफूलाई स्वीकारेको अनुभूति गर्न सकेका छन् कि छैनन् । “मापदण्ड पुगेन”, “पहुँच पुगेन”, “चिनजान भएन” भन्ने मानसिकता कतै न कतै अदृश्य विभाजनको कारण त बनिरहेको छैन ? नव प्रतिभाहरू पनि यी संस्थाहरू सँगै जोडिन पाउनु पर्छ भन्ने मेरो मान्यता छ तर त्यसको आफ्नै छुट्टै मापदण्ड बनाइनु पर्छ । राजधानी बाहिर बसेर काम गरिरहेका थुप्रै स्थापित प्रतिभाहरू अझै पनि संस्थागत रूपमा जोडिन सकेका छैनन् ।

यदि पेशागत संस्था साँच्चै उद्योगको साझा छाता हो भने, चर्चित अनुहारसँगै क्रियाशील, गुमनाम कर्मीका साथ नव प्रतिभाहरूलाई पनि समान सम्मान दिन सक्नुपर्छ। संस्था तब बलियो हुन्छ, जब त्यसले सबैलाई अपनत्व दिन्छ। निर्वाचन नजिकिँदै गर्दा चलचित्र क्षेत्र फेरि विभिन्न वाचा, समूह बन्दी र रणनीतिमा केन्द्रित हुन थालेको देखिन्छ। तर एउटा गम्भीर प्रश्न उठ्न जरुरी छ संस्थाको मुख्य उद्देश्य निर्वाचन जित्नु हो कि उद्योगलाई समेट्नु ? उद्योग त्यसै बन्दैन, त्यहाँ हजारौँ सर्जकहरू खालि पन्नामा केही कोर्दैन र त्यहाँ केही भन्न खोज्दैन, हो तिनीहरूको लागी पनि जमिन चाहिन्छ तब एउटा सफल समृद्धि उद्योग बन्न सक्छ । यदि निर्वाचन केवल पद प्राप्तिको माध्यम मात्र बन्छ भने संस्था कमजोर बन्छ। तर यदि निर्वाचनलाई दृष्टिकोण, योजना र साझा भविष्य निर्माणको अवसर बनाइयो भने संस्था साँच्चै परिवर्तन सहितको चलचित्र उघोग बन्न सक्छ,अब आवश्यक छ ।
* प्रोत्साहन नीति
* नयाँ पुस्तालाई समेट्ने नीति
* पारदर्शी सदस्यता प्रणाली
* श्रम र योगदानको सम्मान
* राजनीतिक वा व्यक्तिगत गुटभन्दा माथि उठेको पेशागत एकता
* चलचित्रकर्मीको सामाजिक सुरक्षा र अवसर सुनिश्चित गर्ने दीर्घकालीन योजना ।
हरेक चलचित्रकर्मीले गर्वका साथ भन्न सकुन् “ म चलचित्रकर्मी हुँ र यो संस्था मेरो हो।”
आजको आवश्यकता केवल निर्वाचन मात्र होइन होइन, विश्वासको पुनर्निर्माण हो। केवल नेतृत्व परिवर्तन मात्र होइन, सोच परिवर्तन हो। चलचित्र उद्योग तब मात्र समृद्ध बन्छ, जब यसको हरेक कर्मीले आफूलाई सम्मानित, सुरक्षित र समेटिएको महसुस गर्छ। सङ्घ संस्थाहरू साँच्चै साझा घर बन्न सके भने नेपाली चलचित्र उद्योग अझ सङ्गठित, मर्यादित र शक्तिशाली बन्न सक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *