ज्योति पाण्डेलाई थुनामा नराखी अनुसन्धान गर्न माग
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख संगठनहरूले संयुक्त रूपमा ध्यानाकर्षण भएको जनाएका छन् । पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको सन्दर्भमा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तिमार्फत चार संगठनले ‘सुन अनि थुन’को सिद्धान्तलाई आत्मसात् गर्न आग्रह गर्दै, सीईओ पाण्डेको पदको गरिमालाई समेत मध्यनजर गरी उनलाई थुना बाहिरै राखेर अनुसन्धान प्रक्रियाअगाडि बढाउन अपिल गरेका छन् ।

“बैंक तथा वित्तीय संस्थाहरूले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीति र निर्देशनको अधीनमा रही सर्वसाधारणको निक्षेप संकलन र कर्जा प्रवाह गर्दै आएका छन्,” संयुक्त विज्ञप्तिमा उल्लेख छ, “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’को दफा ५७ले बैंकहरूलाई कर्जा असुलीका लागि विशेष अधिकार दिएको छ । सो प्रक्रिया प्रमुख कार्यकारी अधिकृतको मुख्य दायित्वभित्र पर्छ ।” बैंकिङ क्षेत्रका प्रतिनिधि संस्थाहरूले सर्वसाधारणको निक्षेप, जनविश्वासमा चल्ने बैंकजस्तो संस्थाको सीईओलाई कर्जा असुलीको विषयलाई लिएर पक्राउ गर्दा बैंकको साखमा गिरावट आउने र वित्तीय क्षेत्रको स्थायित्वमा नै नकारातमक असर पुग्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।
















