भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई दुई स्ट्रोकले हराउँदै सिजनको चौथो र करियरको १५औँ उपाधि हात पारे । उपाधिसँगै भुवनले एक लाख ३० हजार नगद हात पारे । एमेच्योर राहुल र प्रो दिनेशले आज समान ४–अन्डर ६४ सहित समग्रमा ९–अन्डर २६३ को स्कोरमा संयुक्त रूपमा दोस्रो स्थानमा रहे । दोस्रो भएका दिनेशले ९० हजार जिते । शुक्रबहादुर राईले इभन–पार ६८ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ८–अन्डर २६४ सहित चौथो भए । उनले ७० हजार प्राप्त गरे । निरजले पनि इभन–पार ६८ खेल्दै समग्रमा ७–अन्डर २६५ को स्कोरमा पाँचौँ हुँदा ५५ हजार नगद पुरस्कार पाए । १–ओभर ६९ खेल्दा समग्रमा ६–अन्डर २६६ सहित धनबहादुर थापा छैटौँ भए । उनले ४६ हजार पाए । समग्रमा ५–अन्डर २६७ सहित रामे मगर सातौँ, समग्रमा ४–अन्डर २६८ सहित रवि खड्का आठौँ, समग्रमा २–अन्डर २७० सहित भुवनकुमार रोक्का र समग्रमा १–अन्डर २७१ सहित एमेच्योर स्वप्निल भट्टराई दशौँ भए । रामेले आज इभन–पार ६८, रविले २–अन्डर ६६, भुवनले १– अन्डर ६७ को कार्ड बनाए । उनीहरूले ३९ हजार, ३५ हजार र ३२ हजार प्राप्त गरे । एमेच्योरतर्फ समग्रमा ९–अन्डर २६३ सहित राहुलले उपाधि जित्ने क्रममा स्वप्निललाई ८ स्ट्रोकले पछि पारे । स्वप्निल दोस्रो भए । आज १–अन्डर ६७ खेल्दै उनले समग्रमा १–अन्डर २७१ को स्कोर निकाले । अन्तिम दिनको सुरुआत गर्दा भुवनसँग तीन स्ट्रोकको अग्रता रहेको थियो । यही अग्रतालाई जोगाउँदै च्याम्पियन हुने क्रममा उनले फ्रन्ट र ब्याक दुवै नाइन इभन–पार ३४ मा पूरा गरे । चौथो र पाँचौँ होलमा बर्डी प्रहार गरेका उनले नवौँ होलमा डबल बोगी खेपे ।
यसपछि ब्याक नाइनको सबै होलमा पार जोगाए । राहुलले चौथो र छैटौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३२ खेले । यसपछि १०औँ, ११औँ र १३औँ होलमा पनि बर्डी प्रहार गरे भने १५औँ होलमा एक सट खेर फाले । ब्याक नाइन पनि २–अन्डर ३४ मा सकाए । दिनेशले पनि फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । तेस्रो होलमा एक सट खेर फाले पनि चौथो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे । यसपछि १०औँ र १६औँ होलमा पनि एक–एक सट बचाए । प्रतियोगिताको विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र पीजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कुल ५२ खेलाडी प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख १० हजार रहेको थियो । जहाँ उत्कृष्ट १८ प्रो गल्फरले नगद पुरस्कार प्राप्त गरे ।
















