भर्चुअल दुनियाँबाट उदाएका शक्तिहरू दिगो हुँदैनन् : वर्षमान पुन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ता शक्तिहरू छिट्टै ओरालो लाग्ने दाबी गरे । पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै नेता पुनले यस्ता शक्तिहरूमा विचार र नेतृत्वको अभाव रहेको टिप्पणी गरे । सांसद पुनले अहिलेको डिजिटल युगमा एजेण्डाहरू सामाजिक सञ्जालबाटै तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने बताए । नेता पुनले भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्रमा भौतिक उपस्थिति कम देखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उल्लेख गरे ।
अहिले डिजिटल प्लेटफर्महरुमा, सामाजिक सञ्जालहरुमा, सञ्चार माध्यमहरुमा एजेण्डा बन्छ । त्यसपछि बराबरी सबै तेर्सो खालको मान्छेहरू, नेता कोही नेतृत्व गर्ने हुँदैन, त्यही नै एजेण्डा बन्छ । उनले भने, मन मिल्नेहरूको ग्रुप बन्छ र तिनीहरूले एउटा एजेण्डा सेट गर्छन्, एउटा तरिका यो भएको छ । दोस्रो कुरा, यो यति धेरै आक्रामक छ, तीव्र छ कि कतिखेर कहाँ विस्फोट हुन्छ भन्न सकिने अवस्था छैन । राजनीतिक विचार, त्याग, र बलिदानको जगबिना आएका शक्तिहरूले समाज सम्हाल्न नसक्ने पुनको ठहर छ । यो कुनै विचार, राजनीति, आन्दोलन, त्याग, बलिदान एउटा जग खडा गरेर आएको शक्ति होइन। आउँदा त्यसै आउँछ, जाँदा पनि त्यसै जाने हो ।
















