मुख्यमन्त्री बानियाँद्वारा गौरिटार क्रिकेट मैदानको उद्घाटन ,अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरिटार रङ्गशालामा निर्माण गरिएको क्रिकेट मैदानको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमकाबिच मुख्यमन्त्री बानियाँले क्रिकेट मैदानको उद्घाटन गरेका हुन् । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त मैदानको मुख्यमन्त्री बानियाँले शिलालेख अनावरण गर्दै उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले हेटौँडास्थित गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । गौरिटार रङ्गशालालाई प्रदेशको पहिचान र शानको रूपमा रहेकाले गौरवको आयोजनाको रूपमा अघि बढाउने सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको उनले बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरी क्रिकेट निर्माण कार्यलाई पूर्णता दिने बताए । ‘गौरिटारको क्रिकेट मैदानलाई अझ व्यवस्थित बनाउने, प्यारापिट निर्माण गर्ने र आगामी वर्षभित्रै यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य छ । रङ्गशालाभित्र क्रिकेट मैदानका साथै हेल्थ डेक्स र सिन्थेटिक ट्रयाक जस्ता पूर्वाधारहरू निर्माण गरेर बहुउद्देश्यीय बनाउँछौँ । प्रदेशको खेलकुद विकासका लागि क्रिकेट सङ्घसँग समन्वय गरेर अघि बढ्ने बताउँदै मुख्यमन्त्रीले देशभरिका र अन्तरप्रदेश स्तरीय खेलहरू हेटौँडामा आयोजना गर्न सकिने गरी पूर्वाधार तयार पारिने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले खेलाडीहरूको भविष्य सुरक्षित गर्न प्रदेश सरकारले ‘बागमती प्रदेशको शान, खेलाडीको सम्मान’ भन्ने नयाँ नीति अघि सारेको बताए । उनका अनुसार देश र प्रदेशका लागि योगदान पुर्‍याउने खेलाडीहरूलाई खेल जीवनबाट सन्यास लिएपछि पनि जीवनवृत्तिका लागि भत्ता र सम्मानको व्यवस्था प्रदेश सरकारले गर्नेछ । ‘खेलाडीले आफ्नो सक्रिय समय खेलमा बिताएपछि पनि सम्मानजनक जीवन जिउन सकोस् भन्ने हेतुले हामीले कार्यविधि बनाएर आगामी वर्षदेखि भत्ता र सम्मान रकमको व्यवस्था लागू गर्नेछौँ ।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौँडास्थित गौरीटार क्रिकेट रङ्गशालालाई बागमती प्रदेशको क्रिकेट ‘हब’ बनाउने बताए । उद्घाटन कार्यक्रममा बोल्दै खड्काले गौरिटार रङ्गशाला निर्माण हुनु क्रिकेट क्षेत्रका लागि एक ऐतिहासिक क्षण भएको बताए। सचिव खड्काका अनुसार विगतमा मकवानपुरको हुप्राचौरमा एउटै मैदानमा धेरै खेलहरू (भलिबल, तेक्वान्दो, क्रिकेट) खुम्चिएर खेल्नुपर्ने बाध्यता रहेको थियो । गौरिटार क्रिकेट मैदान निर्माणसँगै अब क्रिकेटरहरूले आफ्नै छुट्टै मैदान पाएकोमा उनले उत्साह व्यक्त गरे । उक्त मैदानबाट भविष्यमा अझ उत्कृष्ट खेलाडीहरू उत्पादन हुने उनले बताए । सचिव खड्काले रङ्गशालाको थप विकास र स्तरोन्नतिका लागि प्रदेश सरकारसँग बजेटको माग गरे । ‘गौरिटार क्रिकेट मैदान एउटा सोच र भिजन थियो । जुन आज साकार भएको छ । बागमती प्रदेशले पहिलो पटक आफ्नै क्रिकेट मैदान पाएको छ । जुन सबै खेलाडीहरूका लागि खुसीको कुरा हो ।’ उनले भने, ‘यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र यहाँ ठुला प्रतियोगिताहरू आयोजना गर्नका लागि प्रदेश सरकारबाट आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ । स्थानीय स्तरबाट क्यानले पनि आवश्यक प्रस्तावहरू पठाउने छ ।’ उनले भने। गत वैशाखमा गौरिटार रङ्गशालामा क्रिकेट मैदान निर्माण सम्पन्न भएको थियो । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको उक्त रङ्गशालामा ५ वटा पिच सहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदान निर्माण गरिएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले बताए । दुई वर्षअघि सुरु गरिएको सो मैदान निर्माणमा कुल ११ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । मैदान निर्माणको जिम्मा एसएनएस–पीएल–एचकेसी जेभीले २०८० चैत २० गते ठेक्का सम्झौता गरी लिएको थियो । मैदानमा ७० मिटर रेडियस (१४० मिटर व्यास) को खेल क्षेत्र रहेको छ । जसमा आधुनिक भूमिगत ड्रेनेज प्रणाली जडान गरिएको भने मैदानमा गुणस्तरीय ‘बर्मुडा दुबो’ लगाइएको छ। हाल ६०० दर्शक क्षमताको प्यारापिट, भीभीआईपी कक्ष, खेलाडी चेन्जिङ रुम, मिडिया कक्ष, टेलिभिजन तथा रेडियो प्रसारण कक्ष र अपाङ्गमैत्री संरचना निर्माण गरिएको उनको भनाई छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *