सिद्धार्थ बैंकद्वारा रुकुम पश्चिममा भूकम्प प्रभावित विद्यालय भवन हस्तान्तरण

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले कर्णाली प्रदेश, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। वि.सं. २०८० साल कार्तिक १७ गते गएको भूकम्पले क्षति पुर्‍याएको विद्यालय भवन बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो। नयाँ भवनसँगै सुलभ पहुँचयुक्त शौचालयसमेत निर्माण गरिएको बैंकले जनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवनको समुद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरे। कार्यक्रममा बैंकका उच्च अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना मात्र नभई भूकम्पपछिको पुनःस्थापना र बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनले गुणस्तरीय शिक्षा समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै बालबालिकालाई सीप, ज्ञान र मूल्यमा आधारित शिक्षाबाट सक्षम बनाउनु आवश्यक रहेको धारणा राखे। स्थानीय जनप्रतिनिधिहरूले बैंकको सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुगेको भन्दै प्रशंसा गरेका छन्। नयाँ भवनले विद्यार्थीको पठनपाठन सहज बनाउने तथा शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पूर्वाधार निर्माण तथा पुनर्निर्माण कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *