कर्मचारीको १७ सालदेखिको तलबी विवरण अनलाइनमा

काठमाडौं । सरकारले बहालवाला र निवृत्त उपसचिव वा सोभन्दा माथिका कर्मचारीहरुको सम्पत्ति छानबिन सुरु भएपछि बढेको चापलाई व्यवस्थापन गर्न राष्ट्रिय किताबखाना (निजामती)ले सम्पूर्ण विवरण अनलाइनमार्फत् उपलब्ध गराउन सुरु गरेको छ । सम्पत्ति छानबिन आयोगबाट प्रकाशित सूचनाका कारण राष्ट्रिय किताबखानामा सेवाग्राहीको चाप अत्यधिक बढेपछि विभागले अनलाइन र डिजिटल माध्यमबाटै सेवा दिन थालेको हो । राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवण कुमार पोखरेलले सेवाग्राहीको सहजताका लागि ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सुरुवात भइसकेको जानकारी दिए । उनका अनुसार कर्मचारीहरुको तलबी आम्दानीको निस्सा अनलाइनमै उपलब्ध छ । उनका अनुसार किताबखानाको वेबसाइटको होम पेजमा २०१७ सालदेखिको पद, तलब स्केल र ग्रेडको पूर्ण विवरण र ‘तलब र ग्रेड सिट’ शीर्षकमा राखिएको छ । साथै गणना क्याल्कुलेटर पनि राखिएकाले त्यसबाट लाभ लिन सकिन्छ । बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरूले आफ्नो तलवी आम्दानीको निस्सा (विवरण) लिन विभाग आउने क्रम बढेपछि विभागले आफ्ना सेवाहरू पूर्ण रूपमा ‘फेसलेस’ बनाएको जनाएको छ । त्यसैले अब कर्मचारीहरु आफ्नो विवरण लिन कार्यालय धाइराख्नु पर्दैन ।कर्मचारीहरूले भौतिक रूपमा उपस्थित नभई दुईवटा डिजिटल विधिहरू प्रयोग गरेर आफ्नो तलवी विवरण प्राप्त गर्न सक्नेछन्–

१. ह्वाट्सएप विधि

सेवाग्राहीले ह्वाट्सएप नम्बर ९७१४४९९२४० मा आफ्नो नाम, दर्जा र संकेत नम्बर पठाएर विवरण माग गर्न सक्नेछन् । तर यसमा ध्यान दिनुपर्ने कुरा के छ भने प्राविधिक सीमाका कारण ह्वाट्सएपमा पठाइएको विवरण २४ घण्टाभित्रै आफैं मेटिन्छ । यदि २४ घण्टाभित्र रेस्पोन्स नआएमा पुनः विवरण पठाउन विभागले अनुरोध गरेको छ ।

२. इमेल विधि
सेवाग्राहीले talabi.partibedan@pis.gov.np  मा आफ्नो नाम, पद र संकेत नम्बर इमेल गरेर पनि आफ्नो विवरण प्राप्त गर्न सक्ने छन् । महानिर्देशक पोखरेलका अनुसार यो विधि थोरै झन्झटिलो जस्तो लागे दिगो, सुरक्षित र विश्वसनीय छ । यसमा डाटा सुरक्षित रहने हुनाले छिटो सेवा पाउन यो विधिको प्रयोग गर्न भनिएको छ ।
प्राविधिक त्रुटि भएमा आफैँ गणना गर्न सकिने
कामको चापका कारण र प्राविधिक कारणले कहिलेकाहीँ विवरणमा त्रुटि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले वैकल्पिक व्यवस्था समेत गरेको जनाएको छ । यदि कुनै प्राविधिक कारणले विवरण नमिलेमा सेवाग्राही स्वयम्ले वेबसाइटमा राखिएको ‘तलब र ग्रेड शिट’मा गएर पनि गणना गर्न सक्ने छन् । विभागले प्रविधिको अधिकतम् उपयोग गरी सेवालाई झन्झटमुक्त बनाएको जनाएको । कार्यालयमा धाएर समय खर्च नगर्न सबै सम्बन्धित बहालवाला तथा निवृत्त कर्मचारीहरूमा अपिल गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *