रास्वपाले सक्यो ४२४६ वडा अधिवेशन
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशन तालिकाअन्तर्गत हालसम्म ४ हजार २४६ वट वडामा अधिवेशन सकेको छ। केन्द्रीय सदस्य आरके ढुंगानाले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कुल ५१२ पालिका अधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लक्षित गरी विशेषतालिका अन्तर्गत जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन गरेको थियो। त्यस्तै जेठ ९ र १० गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन गरेको थियो। जेठ १६ र १७ गते पनि बाँकी रहेका वडा र पालिका अधिवेशन सञ्चालन गरेको थियो। ढुंगानाका अनुसार केन्द्रीय पोर्टलमा थप ४ वटा तदर्थ वडा समिति अध्यावधिक भएको पनि उनले जानकारी दिए। त्यसैगरी केन्द्रीय पोर्टलमा थप ४ वटा तदर्थ पालिका समिति अध्यावधिक भएको छ। आगामी जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने तयारी स्वरूप केन्द्रीय संगठन विभागबाट आवश्यक तयारीहरू भएको छ। भने केन्द्रीय निर्वाचन आयोगबाट अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिएको पनि उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अगाामी असार ७, ८, ९ गते चितवनमा हुँदैछ।
















