कुमारी क्यापिटलका कर्मचारीलाई एएमएल, सीएफटी तालिम प्रदान
काठमाडौं । एएमएल नेपालले कुमारी क्यापिटल लिमिटेडका कर्मचारीहरूलाई धितोपत्र बजार सम्बन्धी एकदिने एन्टी–मनी लाउण्डरिङ (एएमएल) र काउन्टरिङ द फाइनान्सिङ अफ टेरोरिजम् (सीएफटी) तालिम प्रदान गरेको छ। उक्त तालिमको मुख्य उद्देश्य धितोपत्र बजार विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएलरसीएफटी सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको आयोजकले बताएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय एएमएल,सीएफटी अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, नेपाल धितोपत्र बोर्डका एएमएल निर्देशनअनुसार बजार मध्यस्थकर्ताहरूको भूमिका तथा जिम्मेवारी साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षा लगायतका विषयमा विस्तृत प्रस्तुति गरिएको थियो । तालिमको सहजीकरण श्रीधर अधिकारी र लेखनाथ पोखरेलले गरेका थिए।
कार्यक्रममा कुमारी क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौतीहरू तथा उत्कृष्ट अभ्यासबारे सक्रिय छलफल गरेका थिए। कार्यक्रमका क्रममा एएमएल नेपालका प्रतिनिधिहरूले नेपालको पूँजी बजारको पारदर्शिता, विश्वसनीयता तथा वित्तीय अपराध नियन्त्रणका लागि प्रभावकारी एएमएलरसीएफटी अनुपालन अपरिहार्य रहेको उल्लेख गर्दै यसले वित्तीय प्रणालीको दीर्घकालीन स्थायित्व र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। एएमएल नेपालमा एएमएल,सीएफटी सम्बन्धी परामर्श, तालिम, नीति निर्माण, जोखिम मूल्यांकन तथा निरन्तर अनुपालन सहयोग प्रदान गर्ने अग्रणी विशेषीकृत संस्था हो। संस्थाले बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता तथा अन्य रिपोर्टिङ इन्टिटिजलाई समग्र एएमएलरसीएफटी उपलब्ध गराउँदै आएको छ ।
















