पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ छ – ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ रूपमा रहेको बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कपिलवस्तुको चन्द्रौटामा आयोजित लुम्बिनी प्रदेशस्तरीय भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको केन्द्रीय कमिटीबाट केही गम्भीर सुधारका निर्णय गरिने पनि उनले बताए । “यति बेला देश, हाम्रो पार्टी र हाम्रो आन्दोलन अफ्ठ्यारो अवस्थामा छन् । मानिसहरू दमित अवस्थामा छन्, बोल्न सक्ने अवस्थामा छैनन्,” ओलीले भने, “निर्वाचनमा जसलाई पराजित गरेर जसलाई जिताउनुपर्ने थियो, सोहीअनुसार निर्वाचनमा जादुमय तरिकाले जितको घोषणा गरिएको छ ।” ‘हामी फेरि जित्ने छौँ’ भन्ने आत्मविश्वासका साथ पार्टी काममा लाग्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे । पार्टीभित्र एकता आवश्यक रहेकाले यसतर्फ सचेत भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । सरकारले सुकुम्वासीमाथि गरेको ज्यादती, ट्रेड युनियन, सञ्चारमाध्यम र विद्यार्थी संगठनमाथि हमला र नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र साह (बालेन)को ‘षडयन्त्रपूर्ण’ अभिव्यक्तिविरुद्ध आवाज उठाउने, त्यस्ता क्रियाकलापको सामना गर्नुपर्ने उनले बताए । पार्टीभित्र असमझदारी, फाटो, अनेकताका कुरा सुनिनु,आउनु आन्दोलनको हितमा नरहेको उनले उल्लेख गरे । नेता–कार्यकर्ताको राय पार्टी सुदृढ र एकताबद्ध बनाउने हिसाबले आउनुपर्नेमा ओलीले जोड दिए ।
















