एमालेसँग तत्काल एकताको कुनै सम्भावना छैन : नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले बाहिर आएका हल्लाको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीलाई आग्रह गरेका हुन् । नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिलाई गोलबन्द गर्नु रहेको बताए । उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको जिकिर समेत गरे । आफ्ना पुर्खाको गौरवशाली इतिहासको रक्षा गर्दै देशमा रहेका सबै परिवर्तनकारी शक्तिलाई एकै ठाउँमा ल्याएर मुलुकको रूपान्तरणमा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे । तपाईंहरू माथिका सतही कुरा हेरेर त्यसमा बग्ने होइन, भित्री अन्तर्विरोधहरू बुझ्न सक्नुपर्छ । सबै विषयका बारेमा जानकारी राख्नुपर्छ । समाचारमा कुनै कुरा आयो भने हामी त्यसैमा बग्ने गर्छौं । सुनियो कि एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्ने रहेछ । मलाई त फोनको जवाफ दिँदादिँदै हैरान भएको छु । तर, यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन । एमालेसँग अहिले एकता सम्भव छ र रु सम्भवै छैन ।

त्यसैले यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस् । अहिले हाम्रो पार्टी जुन विचार र मान्यता लिएर अगाडि बढिरहेको छ, त्यसले अवश्य पनि देशमा रहेका सबै देशभक्त शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ, सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ । साथै, सबै लोकतान्त्रिक शक्तिहरू र गणतन्त्रका पक्षधर शक्तिहरूलाई पनि साथमा लिएर जानुपर्छ । किनभने, देशको रक्षा गर्ने जिम्मेवारी, राष्ट्रहितको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । जनताको हितको पक्षमा उभिने दायित्व पनि हाम्रै हो । त्यसै हुनाले जनताको पक्षमा, राष्ट्रको पक्षमा, परिवर्तनको पक्षमा र रूपान्तरणको पक्षमा स्पष्ट सोचका साथ हामी अगाडि बढ्नुपर्छ । त्यसैका निम्ति हामीले ‘वैज्ञानिक समाजवाद’ र ‘नेपाली विशेषताको समाजवाद’ भन्ने गरेका छौँ । नेपालको आफ्नै विशेषता छ । यो बहुजातीय देश हो, बहुभाषिक देश हो । नेपालमा आफ्नै किसिमका संस्कृति र परम्पराहरू छन् । नेपाली जनताका आफ्नै गौरवशाली इतिहास छन् । नेपाल कहिल्यै पनि कुनै देशको उपनिवेश बनेन । त्यसैले हामी आफ्ना पुर्खाहरूप्रति गौरवबोध पनि गर्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *