संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध छौँ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । चिवतनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा उनले लोकतान्त्रिक मूल्य–मान्यताप्रति आफूहरू सधैँ प्रतिबद्ध रहने बताएका हुन् । मुलुकमा आएको परिवर्तन र उपलब्धि विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उनले उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उनको भनाइ थियो । उनले विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको बताए ।

लोकतन्त्र र यसको मूल्यमान्यताबाट आफू तथा पार्टी कहिल्यै विचलित नहुने उनले प्रतिबद्धता व्यक्त गरे । संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्‍याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको सँघारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको काँधमा उभिएको हुनाले, बस्न पाएको हुनाले नै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ । त्यसैले म तपाईंहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुने छैनौँ, म कहिल्यै विमुख हुने छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *