सुनसरी घटना देखाउँदै तिब्बती अध्ययन सम्मेलन रद्द गर्न सरकारको निर्देशन

काठमाडौं । भदौको ७ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन रोक्न सरकारले निर्देशन दिएको छ । चिनियाँ राजदूतले केही समयअघि परराष्ट्र सचिव अमृतबहादुर राईसँग छलफल गरेका थिए । तर त्यसमा राजदूतले आपत्ति भने नजनाएको परराष्ट्र स्रोतले जानकारी दियो । सरकारले सुनसरी घटनालाई देखाउँदै अहिले तिब्बती अध्ययन सम्मेलन स्थगित गर्न निर्देशन दिएको पाइएको छ । चारवर्षदेखि कै तयारी गरिएको भए पनि अन्तिम समयमा सरकारले स्थगित गर्न निर्देशन दिएको हो । ३९ देशबाट तिब्बत मामिलाका जानकारलाई आमन्त्रण गरिएको थियो ।

अहिलेसम्म १५ देशबाट प्रतिनिधि आउने पक्का भइसकेको थियो । परराष्ट्र सचिव राईसँगको छलफलपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले काठमाडौं विश्वविद्यालयका अधिकारीलाई फोन गरेर स्थगित गर्न भनेका थिए । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार राजीव श्रेष्ठले कुराकानीमा भने– सुनसरी घटनालाई देखाएर सरकारले यो कार्यक्रम रोक्न भनेको छ ।” उनले कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको बताउँदै १५ देशबाट प्रतिनिधि आउने पक्का भएको बताए । सरकारको निर्देशनपछि आफूहरु अहिले पनि छलफलमा रहेको उनले बताए । परराष्ट्र मन्त्रालय स्रोतले भने चीनलाई देखाएर स्थगित गर्नु आवश्यक नरहेको बतायो । “चीनबाट नै सय बढी प्राध्यापक आउने तयारी थियो,” स्रोतले भन्यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *