नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय अवस्था सुरक्षित छ, दैनिक कार्य सञ्चालनमा समस्या हुँदैनः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध अदालतमा मुद्दा दायर भए पनि बैंकको दैनिक कार्य सञ्चालनमा कुनै असर नपर्ने बताएका छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले बैंकका पदाधिकारीहरू विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो जानकारीमा आएको बताएको हो । राष्ट्र बैंकले बैंकको हालको वित्तीय अवस्था र तरलतामा कुनै समस्या नभएको समेत बताएको छ ।
‘हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका परिसूचकहरू केन्द्रीय बैंकले तोकेको मापदण्ड बमोजिम सन्तोषजनक रहेका छन् । बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था देखिएको छैन,’ राष्ट्र बैंकले विज्ञप्तिमा भनेको छ, ‘राष्ट्र बैंकले उक्त बैंकको सञ्चालन र व्यवस्थापनको विषयमा नजिकबाट अनुगमन गरिरहेको र विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझाव लिई छलफल गरिरहेको छ।’ मुद्दा हाल अदालतमा विचाराधीन रहेकाले, मुद्दाको प्रकृति, समयावधि र गम्भीरतालाई आधार मानेर राष्ट्र बैंकले थप कदम चाल्ने बताएको छ। राष्ट्र बैंकले कानुन बमोजिम सञ्चालक समिति र उच्च व्यवस्थापनका सम्बन्धमा आवश्यक उपायहरू अवलम्बन गर्ने स्पस्ट पारेको छ । यसअघि, बुधबार बैंकका केही सञ्चालक र सीईओ विरुद्धअदालतमा मुद्दा दर्ता भएको थियो ।
















