हिमालयन डिस्टिलरीको आर्थिक वर्ष २०८२।८३ को उत्साहजनक वित्तीय विवरण सार्वजनिक

काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८२।८३ को उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा खुद नाफा र व्यापारमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले आर्थिक वर्ष २०८२।८३मा १ अर्ब २० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २८.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ९४ करोड १४ लाख ४६ हजार ४८७ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीले गत आवमा ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको छ । अन्तःशुल्क कट्टीपछिको खुद बिक्री आम्दानी ४ अर्ब ३७ करोड १८ लाख रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो बिक्री आम्दानी ३ अर्ब ७० करोड ८७ लाख रुपैयाँ मात्र थियो । व्यापारमा आएको सुधारले नै कम्पनीको नाफा बढाउन मुख्य भूमिका खेलेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीको कुल नाफा ३ अर्ब ५ करोड ९३ लाख रुपैयाँ रहेको छ । कर्मचारी खर्चमा ४७ करोड ९१ लाख र प्रशासनिक खर्चमा १९ करोड ५५ लाख रुपैयाँ खर्च भएतापनि कम्पनीले १ अर्ब ६७ करोड ७५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सरकारलाई आयकर स्वरूप ४२ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ । नाफामा वृद्धि भएसँगै लगानीकर्ताको प्रतिफलको सूचक मानिने प्रतिसेयर आम्दानीमा पनि आकर्षण बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२.७१ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष २५.५३ रुपैयाँ मात्र थियो । त्यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थ १४१.४३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.८५ गुणा कायम भएको छ । कम्पनीले बजारमा बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र सरकारी नीतिमा हुने परिवर्तन प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गरेको छ । यद्यपि, कम्पनीले आफ्ना उत्पादनहरूको गुणस्तर कायम राख्दै नयाँ ‘पोर्टफोलियो’ विस्तार गरेका कारण बजार हिस्सा जोगाउन सफल भएको देखिन्छ । विशेषगरी गोल्डेन ओक, ब्ल्याक ओक जस्ता ब्राण्डहरूको बजारमा राम्रो माग रहेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *