माछापुच्छ्रे बैंकको २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२।८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा बैंकको नाफा १२.२४ प्रतिशतले बढेको हो । नाफा बढेपनि वितरणयोग्य नाफा र लाभांश क्षमता भने घटेको छ । नियामकीय जगेडा कोषमा छुट्याउनु अघिको नाफा १ अर्ब ४ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ । बैंकले बक्यौता ब्याजको लागि नियामकीय जगेडा कोषमा ११ करोड १२ लाख रुपैयाँ छुट्याएको छ । त्यसका बाबजुत पनि बैंकको वितरणयोग्य नाफा ९३ करोड ६४ लाख रुपैयाँबाट बढेर ९८ करोड २० लाख रुपैयाँ पुगेको छ । तर बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको छ । जसको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाा छुट्याँदा बैंकको लाभांश क्षमता ७.५१ प्रतिशत छ । बैंकको खुद ब्याज आम्दानी, फि तथा कमसिन आम्दानी, नेट ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानीमा पनि वृद्धि भएको छ । जसले गर्दा कर्जा नोक्सानी व्यवस्थामा करिब शत् प्रतिशतलको वृद्धि भएपनि बैंकको नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद फि तथा कमीसन आम्दानी पनि १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुग्दा नेट ट्रेडिङ आम्दानी ३३ करोड २२ लाखबाट बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
जसले बैंकको कुुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४लाख रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य बढेर ३.९६ प्रतिशतबाट ३.९८ प्रतिशत पुगेको छ । बैंकको कर्जा नोक्सानी व्यवस्था पनि ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ । जसले बैंकको आम्दानीको अनुपातमा नाफा बढ्न सकेन । अघिल्लो वर्ष ४७ करोड ८३ लाख रुपैयाँ कर्जा अपलेखन गरेको बैंकले गत आबमा पनि ११ करोड ५८ लाख रुपैयाँ कर्जा अपलेखन गरेको छ । १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८९ प्रसाबाट बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा पुगेको छ । जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ छ । पूँजीकोष अनुपात १३.२१ पतिशत र प्राथमिक पूँजीकोष अनुपात १०.०४ प्रतिशत छ । बैंकको आधार दर ५.०४ प्रतिशतमा झरेको छ । त्यस्तै स्प्रेड दर ३.७९ प्रतिशतबाट ३.४८ प्रतिशतमा झरेको छ । बैंकको निक्षेप १ खर्ब ८४ अर्ब १७ कोड ६० लाख रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी पनि १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
















