प्राइम बैंकको नाफामा उत्साहजनक वृद्धि, २८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड माथि

काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२।८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक विवरणले बैंकको नाफामा उत्साहजनक वृद्धि भएको देखाएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्ममा बैंकले ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०८१।८२ मा बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वित्तीय स्वास्थ्य सबल देखिनुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिले सहयोग पुर्‍याएको छ । यद्यपि निष्क्रिय कर्जा भने अघिल्लो वर्षको तुलनामा केही बढेको छ । अघिल्लो वर्ष ५.८१ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ६.६९ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जामा केही वृद्धि भएपछि बैंकले सम्भावित जोखिम व्यवस्थापन (नोक्सानी व्यवस्था) का लागि १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ, जसले गर्दा नाफामा केही दबाब परेको भए पनि समग्र नाफा भने बढेको छ । प्राइम बैंकको सञ्चित नाफा (रिटेन्ड अर्निङ) १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ छ । चुक्तापुँजी २० अर्ब ९५ करोड रूपैयाँ रहेको बैंकले यो सञ्चित नाफाबाट ९.१ प्रतिशत लाभांश वितरण गर्न सक्छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ थियो । ब्याजदर स्प्रेड करिब स्थित हुँदा पनि बैंकले प्रवाह गरेको कुल कर्जा वृद्धि हुँदा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ ।

अघिल्लो वर्ष ८ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ । खुद फि तथा कमिसन आम्दानी पनि बढेर १ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा २ अर्ब ७२ करोड ७ लाख रुपैयाँ प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) राखेको बैंकले गत आवमा १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ मात्र प्रोभिजन राख्दा बैंकको नाफा बढ्न मद्दत पुगेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । गत वर्ष १६.५० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष १९.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१.०७ रुपैयाँ कायम हुँदा बैंकको आधार दरमा उल्लेख्य गिरावट आएको छ । गत वर्ष ६.४९ प्रतिशत रहेको आधार दर यो वर्ष ४.९५ प्रतिशतमा झरेको छ । त्यस्तै, स्प्रेड दर ३.६९ प्रतिशतबाट झिनो अंकले घटेर ३.६६ प्रतिशतमा कायम भएको छ । पुँजी कोष ११.३३ प्रतिशतबाट बढेर १२.८७ प्रतिशत पुग्दा प्राथमिक पुँजी अनुपात ९.८८ प्रतिशत छ । सीडी रेसियो ८३.९३ प्रतिशतबाट घटेर ८३.३६ प्रतिशतमा आएको छ, जसले बैंकसँग लगानीका लागि अझै केही स्पेस रहेको देखाउँछ । यता कस्ट अफ फन्ड ५.२१ प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ । ४ अर्ब ११ करोड रूपैयाँ खुद नाफाम कमाएको बैंकले बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति वृद्धि हुँदा नियामकीय समायोजन गरेपछि वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ कायम भएको हो । गत आवमा बैंकले निक्षेप संकलनमा वृद्धि गर्दै २ खर्ब ७७ अर्ब ७४ करोड रुपैयाँ पुर्‍याएको छ । कर्जा प्रवाह पनि बढेर २ खर्ब २६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *