नेपाली कांग्रेस इतर समूहको भेलालाई किन ‘सम्मेलन’ मा परिणत
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक सम्मेलनको रूपमा अगाडि बढाउने भएको छ। प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार, सुरुमा राष्ट्रिय भेलाको रूपमा कार्यक्रम तय गरिए पनि पछिल्लो राजनीतिक परिस्थिति र अदालती निर्णयका कारण यसलाई विधान सम्मत सम्मेलनमा रूपान्तरण गरिएको हो। संयोजक विश्वकर्माले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकताका विषयमा अदालतको पछिल्लो निर्णय र प्रक्रियालाई ध्यानमा राख्दै यो निर्णय लिइएको बताए। ‘पहिले हामीले विधान भन्दा बाहिरको समानान्तर भेला गर्ने सोचेका थियौँ, तर अदालतले सबै प्रक्रियालाई सुरुदेखि हेर्ने भनेपछि हामी अब विधान बमोजिमकै कार्यक्रम गर्छौँ ।
किन सम्मेलन भनियो ?
विश्वकर्माका अनुसार पार्टीको विधानले दुई प्रकारका ठुला कार्यक्रमलाई चिन्दछ– सम्मेलन र अधिवेशन। अधिवेशनले नेतृत्व चयन गर्छ भने सम्मेलनले नीतिका बारेमा छलफल गर्छ। प्रत्येक वर्ष सम्मेलन गर्न पाइने र ४–५ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था अनुसार यसलाई सम्मेलनको नाम दिइएको हो। यस कार्यक्रममा महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति, र प्रदेश सभापतिहरूको बाक्लो उपस्थिति रहेको छ। सुरुमा सभापति आउने सम्भावना कम देखिए तापनि अहिले केन्द्रीय सभापति लगायत विभिन्न तहका पदाधिकारीहरूको सहभागिताले गर्दा यसलाई सम्मेलन भन्नु उपयुक्त हुने विश्वकर्माले बताए। संयोजक विश्वकर्माले भेलाले मात्र नीति पारित गर्न नसक्ने भएकाले यसलाई सम्मेलनमा रूपान्तरण गरिएको स्पष्ट पारे। उनका अनुसार यो सम्मेलनले पार्टीको आगामी कार्यदिशा र विचारसँग सम्बन्धित पाँचवटा महत्त्वपूर्ण नीतिहरू पारित गर्ने तयारी गरेको छ। ‘भेलाले असन्तुष्टि मात्र पोख्ने काम गर्थ्यो, तर सम्मेलनले नीति नै पास गर्छ। त्यसैले हामीले यसलाई आधिकारिकता दिन सम्मेलनमा रूपान्तरण गरेका हौँ,’ उनले भने। यो सम्मेलनले नेतृत्व परिवर्तनको कुरा नगरे पनि नीतिगत सुधार र पार्टीको आन्तरिक सुदृढीकरणमा केन्द्रित हुने बताइएको छ।
















