चेम्बर अध्यक्ष र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच भेटवार्ता भएको छ । भेटमा नेपालले अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि सामना गर्नुपर्ने चुनौती, रोजगारी सिर्जना, लगानी प्रवर्द्धन, निर्यात विस्तार, युवा उद्यमशीलता तथा दिगो आर्थिक विकासका विषयमा छलफल भएको थियो । अध्यक्ष अग्रवालले नेपालले एलडीसी स्तरोन्नतिलाई केवल एउटा उपलब्धिका रूपमा नभई नयाँ आर्थिक रूपान्तरणको सुरुआतका रूपमा लिनुपर्ने बताए । स्तरोन्नतिपछि व्यापारिक सुविधा, सहुलियतपूर्ण वित्त तथा अन्य प्राथमिकतामा पर्न सक्ने असरलाई सम्बोधन गर्न तत्कालै तयारी अघि बढाउनुपर्ने उनको भनाइ थियो । उनले उत्पादकत्व, गुणस्तर, मापदण्ड, पूर्वाधार, बजार पहुँच र निर्यात प्रतिस्पर्धात्मकतामा केन्द्रित पोस्ट एलडीसी प्रतिस्पर्धी तथा निर्यात रणनीति आवश्यक रहेको बताए । साथै, एलडीसी स्तरोन्नतिका चुनौती सामना गर्न संयुक्त राष्ट्रसंघबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोगको अपेक्षा रहेको उल्लेख गरे । अग्रवालले नेपालको युवा जनसंख्या आर्थिक विकासको महत्त्वपूर्ण शक्ति भएको उल्लेख गर्दै युवालाई स्वदेशमै रोजगारी र उद्यमका अवसर उपलब्ध गराउनुपर्ने बताए । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणमा मात्र निर्भर रहने अवस्थाबाट नेपाल उत्पादन, लगानी र निर्यातमा आधारित अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने उनको धारणा थियो ।

उत्पादनमूलक रोजगारी सिर्जना गर्न उत्पादन, पर्यटन, सूचना प्रविधि, कृषि, जलविद्युत्, निर्माण तथा सेवा क्षेत्रमा संयुक्त राष्ट्रसंघको सहयोग आवश्यक रहेको उनले बताए । युवा उद्यमी तथा स्टार्टअप विकासका लागि संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न सकिने उल्लेख गर्दै अग्रवालले उद्योग शैक्षिक क्षेत्रबीच सहकार्य, बजारमुखी सीप विकास तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । त्यसैगरी, नेपालमा निजी लगानी र विकास वित्त परिचालन गर्न संयुक्त राष्ट्रसंघीय निकायमार्फत निजी पुँजी, ब्लेन्डेड फाइनान्स तथा प्रभावकारी लगानी परिचालन गर्ने संयन्त्र विकास गर्नुपर्नेमा उनले जोड दिए । पूर्वाधार, ऊर्जा, पर्यटन, डिजिटल सेवा, स्वास्थ्य र शिक्षामा सार्वजनिक–निजी साझेदारी विस्तार गर्न पनि उनले आग्रह गरे । हरित अर्थतन्त्र, जलवायु वित्त, विद्युतीय यातायात, नवीकरणीय ऊर्जा तथा जलविद्युतमा लगानी विस्तार गर्न अन्तर्राष्ट्रिय जलवायु वित्त र हरित लगानी परिचालनमा संयुक्त राष्ट्रसंघको सहयोग आवश्यक रहेको अग्रवालले बताए । नेपालको पर्यटनलाई वर्षभरि उच्च मूल्यको गन्तव्यका रूपमा विकास गर्न दिगो पर्यटन, डिजिटल पर्यटन, गन्तव्य ब्रान्डिङ र पर्यटन पूर्वाधारमा पनि सहकार्य गर्नुपर्ने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *