एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा आजदेखि सुरु
काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा आजबाट सुरु भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी थिए । उनीहरुले नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर सहभागी भएका छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजित चार दिने सम्मेलन बीमा अभिकर्ताहरुको क्षमता अभिबृद्धि, नेतृत्व विकास र बीमा क्षेत्रका समसामयिक समस्याहरुमाथि छलफल गरिने भएको छ। आजदेखि सुरु भएको सम्मेलन भाद्र १० गते सम्पन्न हुनेछ । एमडिआरटी ग्लोबल कन्फरेन्समा मेन प्लेटफर्म, स्पेशल सेशन, फोकस सेशन र कनेक्जन जोन गरी चार सत्र अन्र्तगत बीमा अभिकर्ताहरुलाई सहभागी गराइएको थियो ।
मुख्य भाषा अंग्रेजी रहेको सो कार्यक्रममा अन्य ५० वटा भाषामा समेत अनुुवाद गरी सहजै बुझ्न सकिने भएको छ। त्यस्तै, विशेष सत्रमा पहिलो पटक सहभागी हुनेहरुका लागि छुट्टै व्यवस्था गरी स्वागत गरिएको थियो भने कोर्ट अफ टेवल तथा टप अफ टेवल (सिओटी र टिओटी) लागि छुट्टा छुट्टै व्यवस्था गरिएको थियो । विशेष सत्रमा कोर्ट अफ टेवल ओपन फोरमको व्यवस्था गरिएको थियो । त्यस्तै एमडिआरटी ग्लोबल फोरमको लागि छुट्टै सेसनको व्यवस्था गरिएको थियो । एमडिआरटी ग्लोबल कन्फरेन्समा सदस्य बनेका तथा नबनेका तर बीमा क्षेत्रका ज्ञाताहरु सहभागी हुन्छन् । यस अन्तर्गत बीमा पोलिसीका बारेमा तथा लगानी विविधिकरण गर्ने बारेमा छलफल भएको थियो । नेपालबाट सहभागी करिब दुई दर्जन सहभागीहरुले एमडिआरटीका अध्यक्ष रेण्डी स्कीचफिल्डसँग भेटवार्ता गरेका छन्।

















