प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफको ५१ लाख सहयोग

काठमाण्डौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। कम्पनीका सञ्चालक समिति अध्यक्ष संजना अर्याल, सञ्चालक समिति सदस्य वीरेन्द्र जंग पाण्डे र शमशेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ । बाढी तथा डुबानका कारण कैयौँ नागरिकले ज्यान गुमाएका छन् भने केही बेपत्ता भएका छन्। बस्ती तथा पूर्वाधारमा क्षति पुग्दा सयौँ परिवार विस्थापित हुन पुगेका छन्। विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ ।

कम्पनीका अनुसार सहयोग रकमबाट बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रभु महालक्ष्मी लाइफले स्थापना कालदेखि नै देशमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले विपद्को समयमा निजी क्षेत्रले समेत आफ्नो तर्फबाट सहयोग र सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान र आभार व्यक्त गरेको छ । बाढीपछि प्रभावित नागरिकको तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग संकलन गरिरहेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी तथा निजी क्षेत्रका विभिन्न संस्थाले उक्त कोषमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *