तापक्रम वृद्धिसँगै यी हुन् हिमनदी जोखिमका अरू कारक

काठमाडौं । वैज्ञानिकहरूले हिमनदीका लागि बढ्दो तापक्रम मात्र खतरा नरहेको बताएका छन् । हावामा रहेका ब्ल्याक कार्बनका कण र धुलोका कणले पनि हिउँ पग्लिने गतिलाई तीव्र बनाइरहेको उनीहरूको भनाइ छ । गाडी, कोइलामा आधारित विद्युत्‌गृह, उद्योग–कारखाना, इँटाभट्टा, घरायसी चुलो तथा जंगल र खेतबारीमा लाग्ने डढेलोबाट निस्कने सूक्ष्म कण हावासँगै उच्च हिमाली क्षेत्रसम्म पुगेर हिमनदीको सेतो सतहमा थिग्रिन सक्छन् । हिउँमा थिग्रिएको ब्ल्याक कार्बनले सूर्यको किरणबाट आउने ऊर्जा बढी सोस्छ, जसका कारण हिउँ तीव्र गतिमा पग्लिन थाल्छ । यसले हिमनदी पग्लिने प्रक्रियालाई थप तीव्र बनाउन सक्छ । ग्लोबल वार्मिङसँगै प्रदूषणको यो दोहोरो असरले हिमनदीलाई कमजोर र अस्थिर बनाइरहेकाले वैज्ञानिकहरूको चिन्ता बढेको बताइएको छ । नेपाल यसको एक चिन्ताजनक उदाहरण बनेको छ । हालै तिब्बतको केरुङ नजिक नेपालमा हिमनदी फुटेपछि अचानक आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो । उक्त घटनाको कारण अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन । तर, वैज्ञानिकहरूका अनुसार बढ्दो तापक्रम र हिमनदीमा जम्मा भइरहेको प्रदूषणले यस्ता विपद्को जोखिम थप बढाउन सक्छ ।
हिउँमा ब्ल्याक कार्बन पर्दा पग्लिने प्रक्रिया किन बढ्छ ?
सफा र कञ्चन हिउँले सूर्यका करिब ९० प्रतिशत किरणलाई पुनः अन्तरिक्षतर्फ परावर्तन गरिदिन्छ । त्यसैले सफा हिउँले सूर्यबाट आउने ऊर्जाको ठूलो हिस्सा सोस्दैन । तर, हिउँमा ‘ब्ल्याक कार्बन’ जम्दा यसको सेतोपन घट्छ । त्यसपछि हिउँको सतहले सूर्यको बढी ऊर्जा सोस्न थाल्छ र छिटो तात्छ । फलस्वरूप हिउँ पग्लिने गति तीव्र हुन्छ । एक मोडलिङ अध्ययनअनुसार सन् २००७ देखि २०१६ बीच हिमालय क्षेत्रमा हिमनदीले गुमाएको कुल हिउँको करिब एक–तिहाइ हिस्साका लागि दक्षिण एसियाबाट पुगेको ब्ल्याक कार्बन जिम्मेवार हुन सक्छ । अर्थात् हिमनदीमा परिरहेको असर केवल बढ्दो तापक्रमका कारण मात्र होइन । हिउँमा जम्मा भइरहेको ब्ल्याक कार्बनले पनि त्यसलाई थप तातो बनाउन र पग्लिने गति बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
पाकिस्तानबाट उठेको कालिख पनि हिमालयसम्म पुग्दै
भूउपग्रह तथ्यांकको अध्ययनले पाकिस्तानका औद्योगिक मैदानी क्षेत्रबाट निस्कने ब्ल्याक कार्बन र खनिज धुलो हावासँगै उडेर उच्च हिमाली क्षेत्रमा रहेका हिमनदीसम्म पुग्न सक्ने देखाएको छ । यी सूक्ष्म कण हिमनदीको सतहमा थिग्रिएर हिउँको रङलाई धमिलो वा कालो बनाइदिन्छन् । यसका कारण सूर्यको बढी ऊर्जा सोसिन्छ र हिउँ पग्लिने प्रक्रिया तीव्र हुन्छ । तीव्र गतिमा पग्लिएको पानी हिमनदीभित्र रहेका दरार हुँदै भित्र पस्न सक्छ । यसले हिउँको भित्री भागमा पानीको मार्ग बनाएर हिमनदीको समग्र स्थिरतालाई प्रभावित पार्न सक्छ । यसरी कमजोर बनेको हिमनदीको ठूलो भाग अचानक भत्किएर वा टुटेर तल खसेमा आकस्मिक बाढीको जोखिम अत्यधिक बढ्न सक्छ । ब्ल्याक कार्बनको असर हिमनदीको सतहमा मात्र सीमित रहँदैन । हावामा तैरिरहेको कालिखले सूर्यको ऊर्जा सोसेर पहाडमाथिको वायुमण्डललाई समेत तातो बनाउन सक्छ र बादल बन्ने प्रक्रियालाई प्रभावित पार्न सक्छ । यसले कतिपय क्षेत्रमा हिमपात घट्ने अवस्था सिर्जना गर्न सक्छ । यस्तो अवस्थामा हिमनदीमाथि दोहोरो दबाब पर्छ । एकातिर पुरानो हिउँ तीव्र गतिमा पग्लिन्छ भने अर्कोतिर त्यसको भरणका लागि नयाँ हिउँ कम प्राप्त हुन्छ ।
ब्ल्याक कार्बनका मुख्य स्रोत के–के हुन् ?
दक्षिण एसियामा ब्ल्याक कार्बनका मुख्य स्रोतमा पेट्रोल–डिजेलबाट चल्ने सवारीसाधन, कोइलामा आधारित विद्युत्‌गृह तथा उद्योग, इँटाभट्टा, काठ र अन्य ठोस इन्धन प्रयोग हुने परम्परागत चुलो, जंगलको डढेलो तथा कृषि अवशेष ९पराल, नल० जलाउने कार्य पर्छन् । यी स्रोतबाट निस्कने सूक्ष्म कण हावासँगै लामो दूरीसम्म पुग्न सक्छन् । अर्थात् हिमनदीभन्दा हजारौँ किलोमिटर टाढा उत्पन्न भएको प्रदूषणसमेत हिमालयको हिउँसम्म पुग्न सक्छ ।
ब्ल्याक कार्बन घटाउँदा छिटो असर देखिन सक्छ
ब्ल्याक कार्बनका सन्दर्भमा एउटा राहतको पक्ष पनि छ । कार्बन डाइअक्साइडको तुलनामा यो वायुमण्डलमा निकै कम समयसम्म मात्र रहन्छ, जुन सामान्यतया केही दिनदेखि केही हप्तासम्म रहन सक्छ । त्यसैले यसको उत्सर्जनमा कमी ल्याउनासाथ सकारात्मक असर तुलनात्मक रूपमा छिटो देखिन सक्छ । यसको एउटा उदाहरण सन् २०२० को कोभिड–१९ लकडाउन हो । सन् २०२३ मा प्रकाशित एक अध्ययनमा वैज्ञानिकहरूले त्यस अवधिमा भएको प्रदूषणमा आएको कमीको अध्ययन गरेका थिए । उनीहरूले प्रदूषण घट्दा हिमालयको हिउँ बढी चम्किलो भएको र त्यसको पग्लिने दर ४० प्रतिशतसम्म घटेको पाएका थिए । यसले सवारीसाधन, उद्योग र अन्य स्रोतबाट निस्कने कालिख नियन्त्रण गर्न सके हिमनदीमाथिको दबाब केही हदसम्म छिट्टै कम गर्न सकिने देखाउँछ ।
हिमालयको संकट पहाडमा मात्र सीमित छैन
हिमालयका हिमनदी नेपाल र भारतसहित सम्पूर्ण दक्षिण एसियाका लागि अत्यन्त महत्त्वपूर्ण छन् । यी हिमनदीबाट निस्कने पानीले धेरै ठूला नदीको बहावमा योगदान पुर्‍याउँछ । हिमनदी तीव्र रूपमा पग्लिँदा केही समयका लागि नदीमा पानीको मात्रा बढ्न सक्छ । तर, दीर्घकालसम्म यही गति कायम रहे हिमनदीमा सञ्चित हिउँ घट्दै जानेछ । यसले भविष्यमा जलस्रोतको उपलब्धतालाई गम्भीर रूपमा प्रभावित पार्न सक्छ । यसबाहेक, हिमनदीनजिकै बनेका हिमताल फुटेर ‘हिमताल विस्फोटजन्य बाढी’ को जोखिम पनि बढ्न सक्छ । यस्ता बाढीले केही मिनेटमै तल्लो तटीय क्षेत्रमा भीषण विनाश निम्त्याउन सक्छ । न्युयोर्क टाइम्सबाट

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *