सिद्धार्थ साकोसद्वारा ५८ जना जेष्ठ सदस्यहलाई सगुन तथा पोषण वितरण
भक्तपुर । मध्यपुर थिमि नगरपालिका ४, शंखधरचोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले कुशे औंसी तथा बुबाको मुख हेर्ने पर्बको अवसरमा ज्येष्ठ पुरुष सदस्यहरुलाई सगुन तथा पोषण वितरण कार्यक्रम आयोजना गरेको छ । संस्थाले ५८ जना जेष्ठ सदस्यहरुलाई सगुन तथा पोषण वितरण गरेको थियो । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ रहेका थिए । प्रमुख अतिथि श्रेष्ठले सहकारीहरुमा पछिल्लो समय धेरै किसिमका समस्याहरु आएपनि सिद्धार्थ साकोस भने समुदायमा आधारित अब्बल साकोस भएको बताए । उनले संस्थाले सहकारीको मूल्य, मान्यता अनुसार काम गरेको र ज्येष्ठ सदस्यहरुलाई पनि उचित सम्मान गरेकोमा खुशी व्यक्त गरे । ज्येष्ठ नागरिकहरुले पछिल्लो समय पारिवारिक रुपमा साथ सहयोग नपाइरहेको र एक्लो जीवन बिताइरहनुपरेको अवस्थामा संस्थाले उहाँहरुको परिवार सरहल भएको भन्दै प्रशंसा उनले प्रशंसा गरे ।

साथै उनले नगरपालिकामार्फत ज्येष्ठ सदस्यहरुलाई नगरपालिकाका अस्पतालमा निशुल्क उपचारको ब्यवस्था मिलाइएको जानकारी गराउँदै प्रत्येक वडामा मासिक २ पटक निशुल्क जाँच गर्ने ब्यबस्था गरेको जानकारी दिए । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठको सहभागिता रहेकोे थियोे । अध्यक्ष श्रेष्ठले संस्थाको संख्यात्मक सवलताका सूचक र विवरण प्रस्तुत गर्दै ज्येष्ठ सदस्यहरुकै आर्शिवादले संस्था निरन्तर प्रगतिपथमा अघि बढेको बताए । सदस्यहरुको बचतको संरक्षणका विषयमा कुनै चिन्ता नलिन र संस्थामा ढुक्क भएर कारोबार गर्न उनले आग्रह गरे । उनले सुरक्षित लगानी र उचित प्रतिफललाई आधार मानी संस्था सञ्चालन गरिएको जानकारी दिए । संस्था स्थानीयहरुद्वारा प्रवर्धित भएकाले बचतको सुरक्षाको विषमा कुनै चिन्ता नलिन आग्रह समेत गरे । कार्यक्रम शिक्षा उपसमितिका संयोजक तुल्सीराम श्रेष्ठले संचालन गरेका थिए भने उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

















