शीतलबजारमा सडक खोल्न ‘ब्लास्टिङ’ गर्दै सेना
धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजार सडकखण्डमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी बाटो खोल्ने काम अघि बढाएको छ । सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी बाटो पुनः सञ्चालन गर्न सम्भव नभएपछि सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो । सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ । यही भदौ १० गते आएको ठूलो बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो । कटानका कारण शीतलबजारसहित धादिङका कृष्णभीर, परेवा भीरलगायत क्षेत्रमा सडक भासिँदा काठमाडौं–चितवन र काठमाडौं–पोखरा आवागमनमा समेत गम्भीर असर परेको छ ।
विशेष गरी शीतलबजार क्षेत्रमा सडकको ठूलो भाग कटानमा परेर भासिएकाले सामान्य मर्मतबाट तत्काल बाटो सञ्चालनमा ल्याउन कठिन भएको प्राविधिकको भनाइ छ । त्यसैले क्षतिग्रस्त सडकको अवस्था र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै ब्लास्टिङमार्फत बाटोको नयाँ संरचना तयार गर्ने कार्य थालिएको हो । पृथ्वी राजमार्ग संघीय राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने महत्त्वपूर्ण सडक हो । राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन लामो समयसम्म बाटोमै रोकिने, दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने र वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आयोजनाका अनुसार, क्षतिग्रस्त सडकलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन सेना, सडक विभाग तथा निर्माणसम्बद्ध प्राविधिक टोलीबीच समन्वय गरेर काम भइरहेको छ । ब्लास्टिङपछि सडकको सतह व्यवस्थापन, आवश्यक संरचना निर्माण र यातायात सञ्चालनका निम्ति थप काम गरिने जनाइएको छ । भोटेकोसी बाढीपछि त्रिशूली नदीमा आएको तीव्र बहावले नुवाकोट र धादिङ हुँदै काठमाडौं जोड्ने सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ ।

















