साउदी तेल पाइपलाइनमा इराकबाट ड्रोन आक्रमणको पुष्टिपछि इरानसँगका सीमा बन्द
काठमाडौं । इराकले आफ्नै भूभागबाट साउदी अरबको तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ । साथै घटनाबारे अनुसन्धान अघि बढाउन इरानसँगका केही सीमा नाका बन्द गरेको छ । देशभित्र ड्रोन प्रक्षेपणस्थल फेला परेपछि इराकी सरकारले इरान जोड्ने तीनवटा सीमा नाका अस्थायी रूपमा बन्द गरेको एक इराकी सुरक्षा स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । आक्रमणका दोषी भागेर इरान जान सक्ने आशंकामा यी नाका बन्द गर्ने आदेश दिइएको बताइएको छ । बन्द गरिएका नाकामा बसरा प्रान्तको सलामचाह, मैसान प्रान्तको अल–सिब र दियाला प्रान्तको मन्दाली रहेका छन् । दक्षिण–पूर्वी प्रान्त मैसानको अल–तायिब सीमा क्षेत्रमा ड्रोन प्रक्षेपण गर्ने उपकरण फेला परेपछि सो क्षेत्रलाई समेत बन्द गरी व्यापक खोजतलास अभियान जारी राखिएको बताइएको छ ।
ईस्ट–वेस्ट तेल पाइपलाइनमाथि बिहीबार आक्रमण भएको थियो । त्यसपछि साउदी अरबले भोलिपल्ट शुक्रबार पाइपलाइन सञ्चालन अस्थायी रूपमा निलम्बन गरिएको घोषणा गरेको थियो । यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । इरान समर्थित लडाकुको छाता संगठन ‘इस्लामिक रेसिस्टन्स इन इराक’ ले एक वक्तव्य जारी गर्दै यो आक्रमण आफूले दाबी नगरेको एउटा गौरवको विषय भएको बताएको छ । यद्यपि, साउदी अरबले यसअघि पनि इराकमा रहेका इरान–सम्बद्ध समूहले आफ्ना तेल पूर्वाधारलाई निशाना बनाएको आरोप लगाउँदै आएको छ । हाल अनौपचारिक भ्रमणका क्रममा आयरल्यान्डमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाइपलाइनमा भएका आक्रमणका पछाडि सम्भवतः इरानको हात रहेको बताएका छन् ।
















