जेनजीपछि अब के ?
जेनजी आन्दोलनको नाममा मुलुक दहन भएको एक वर्ष पूरा भएको छ । देशी विदेशी प्रतिक्रियावादी शक्तिको षड्यन्त्रको शिकार बनेर एक वर्ष अघि विद्यालय पोसाकमै संसद् भवनमाथि आक्रमण गराएर डर लाग्दो भिडन्तको स्थिति सिर्जना गर्ने शक्ति र व्यक्तिहरुनै अहिले सरकारमा छन् । तिनले भ्रष्टाचारमुक्त राष्ट्र को संज्ञा दिइएको डरलाग्दो हिंसा र आतङ्कको उद्देश्य ठानिएको त्यो कथनलाई अहिले निरर्थक बनाइरहेको छ । जेनजीको ब्यानर बोकेर हत्याको पृष्ठभूमि बनाउन र देश दहन गर्न लागि पारेको तत्त्वको पहिचान नगरी सेनाको नेतृत्वमा आम निर्वाचन गराउनुले पनि षड्यन्त्र गर्ने तत्त्वको रहस्य उदाङ्गिन बाँकी नै थियो । चुनावमा विदेशी शक्ति, नेपाली सेना, प्रहरी र कर्मचारी समेतको साँठगाँठमा जुन परिणाम घोषणा गरियो त्यसले लोकतन्त्रको धज्जी उडाएको थियो । यो परिणाम के का लागि थियो भन्ने कुरा वर्तमान सरकारको शुरुदेखिकै क्रियाकलापले देखाइरहेको छ । वर्तमान सरकारले परराष्ट्र, शिक्षा, स्वास्थ्य, अर्थ शान्ति सुरक्षा समेत सबै नीतिमा विदेशी स्वार्थलाई प्राथमिकतामा राखेको कुरा विज्ञ जनबाट लुकेको छैन । सबभन्दा डरलाग्दो कुरा त नेपाली जनतालाई घरमै कलह गराउने कथित पुस्ताको सवाललाई मूल मुद्दा बनाउन खोज्नु हो । जेनजी पुस्ताको नाममा केही असामाजिक अराजक र राष्ट्र द्रोही तत्त्वले देशलाई गम्भीर सङ्कटमा फसाउँदै छन् । जेनजीको नाममा भयङ्कर आतङ्क मच्चाएर पनि तिनै भिडन्तका पीडितप्रति उदासीनता र कतिपय अवस्थामा प्रतिशोधको भावना राखेर बदला लिने काम भइरहेको छ ।
स्कुले किशोर किशोरीलाई मोहरी बनाएर गरिएको नृशंस ताण्डवले त्रसित नेपाली समाजलाई दिग्भ्रमित पार्न पुराना दलको थाप्लामा घन बजार्ने तत्त्वले अहिले मोहरी जेनजीतर्फ नै सोझ्याएको छ । सुशासन, संवृद्धि र भ्रष्टाचारमुक्त समाजको नारा लगाएर अहिले नेपालीमाथि चौतर्फी आक्रमण भएको छ, त्यो पनि राज्य शक्ति कै दुरुपयोग गरेर । यदि नेपालीहरू नजाग्ने हो भनेर पुराना भनिएका सिद्धान्तनिष्ठ शक्तिहरू मात्रै समाप्त हुँदैन बरु मानव जाति माथिको निर्मम आक्रमणको सिलसिला नेपालबाटै हुने निश्चित छ । राज्यसत्तालाई न्याय, समानता र स्वतन्त्रताका लागि प्रयोग गर्ने हो भने सबभन्दा पहिले शासक वर्ग उत्तरदायी, जिम्मेवार र गम्भीर बन्नुपर्छ । तर अहिले नेपाली सत्तासीन शक्ति इतिहासमै सबभन्दा नालायक गैर जिम्मेवार र उदासीन देखिएको छ । प्रतिपक्ष पनि असह्य र कमजोर देखिएको छ। सरकार असफल हुने सङ्केत देखिएपछि प्रतिपक्षले आशा लगाउनु पर्नेमा त्यो पनि हुन सकेको छैन । त्यसले गर्दा दिग्भ्रमित भएरै सही भ्रष्टाचारी मुक्त नेपालको सपना देख्ने अहिले मर्माहत बन्न पुगेको छ । पुस्ताको नारा लगाएर देश बरबाद गर्नेलाई यहाँ सुनौलो अवसर बन्न पुगेको छ । यस्तो बेलामा स्वतन्त्रता र न्यायको लागि लामो लडाइँ लडेका दलहरूले बिउँझिएर खडा हुनुपर्ने बाध्यता देखिएको छ। कृतघ्न तत्त्वको रूपमा रहेको वर्तमान सत्ताधारी शक्तिको असली अनुहार पनि त्यही बेला देखिन्छ ।
















