एटीएममा १०० रुपैयाँ दरका नोट पनि राख्नू : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आसन्न चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएम मेसिनहरूबाट १०० रुपैयाँ दरका नोटहरू पनि वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । चाडपर्वको समयमा नयाँ तथा साना दरका नोट साट्न बैंकका काउन्टरहरूमा लाग्ने भीडभाड कम गर्न र सर्वसाधारणको सहजताका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको हो । हाल बैंकहरूले आफ्ना एटीएम मेसिनहरूबाट मुख्यतया ५०० र १ हजार रुपैयाँ दरका नोटहरू मात्र वितरण गर्दै आएका छन् । तर, सर्वसाधारण ग्राहकहरूबाट एटीएमबाटै १०० रुपैयाँ दरका नोटहरू पनि पाइनुपर्ने माग बेला–बेलामा आउने गरेको राष्ट्र बैंकले लेखेको पत्रमा उल्लेख छ । राष्ट्र बैंकले केही बैंकहरूसँग प्राविधिक पक्षबारे बुझ्दा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न सम्भव रहेको जानकारी आएकोले उक्त व्यवस्था मिलाउन आह्वान गरेको हो ।
‘नजिकिँदै गरेको महान् चाड बडादशैंको उपलक्ष्यमा १०० दरका नोटहरू पनि एटीएम मेसिनबाट वितरण गर्न सकिएमा बैंक तथा वित्तीय संस्थाहरूमा साना दरका नोट साट्ने ग्राहकहरूको भीड उल्लेख्य रूपमा कम हुने आँकलन गरिएको हुँदा १०० रुपैयाँ दरको नोट पनि एटिएमबाट किाल्न मिल्ने व्यवस्था मिलाई सहयोग गरिदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै भनेको छ । राष्ट्र बैंकले यस सम्बन्धी पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाएको छ। बैंकरहरु भने सबै एटीएमबाट १ हजार र ५०० का नोटका साथै १०० रुपैयाँ दरको नोट समेत निकाल्न मिल्ने व्यवस्था गर्न नसकिने बताउँछन् । पुरानो मोडलका एटीएममा भित्र २ वटा मात्रै नगद राख्न ठाउँ हुने भएकोले त्यसमा हाल १००० र ५०० दरका नोट राख्ने गरिएकाले १०० दरको नोट थप्न मिल्दैन । तर, नयाँ एटीएमहरुमा भने ४ वटा नोट राख्ने ठाउँ भए पनि २ वटा मात्रै प्रयोग भइरहेको हुँदा त्यसमा भने १०० दरका नोट पनि निकाल्न मिल्ने व्यवस्था गर्न सकिन्छ । हाल सञ्चालनमा रहेका एटीएममध्ये करिब २५ प्रतिशत एटीएमहरु ९नयाँ०मा १०० दरका नोट पनि राखेर निकाल्न मिल्ने व्यवस्था गर्न सम्भव रहेको ती बैंकरले बताए ।

















