श्री नवदुर्गा साकोसको कुल सम्पत्ति १ अर्ब २३ करोड माथि

भक्तपुर । श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब २३ करोड ५३ लाख माथि पुगेको छ । संस्थाले प्रकाशित गरेको आर्थिक बर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन अनुसार कुल सम्पत्ति सो मात्रामा पुगेको हो । सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष इन्द्रप्रसाद हुमागाईले ग्रामीण क्षेत्रका निम्न वर्गिय समुदायका १० हजार ३९९ जना सदस्यहरुलाई आवद्ध गराई सेवा प्रदान गर्दै आएको बताए । उनले बचतलाई उत्पादनशीत र आय आर्जनको क्षेत्रमा लगानी गर्दै आएको समेत जनाए । संस्थाले सदस्यहरुको आर्र्थिक विकास र समृद्धिमा टेवा पुर्‍याउने उदेश्यले ऋण परियोजनाको आधारमा लगानी गर्दै आएको उनको भनाई छ । संस्थाले भविष्यमा हुनसक्ने वित्तीय जोखिमलाई न्युनिकरण गर्न र बचत तथा ऋण कारोबारलाई पूर्ण रुपमा सुरक्षित राख्न धितोमा मात्र ऋण लागनी गर्ने नीति अवलम्बन गरेको अध्यक्ष हुमागाईले सभामा जानकारी दिए । बचतको ९० प्रतिशतको आधारमा मात्र ऋण लागनी गरिएको र विना धितो ऋण लगानी पूर्ण रुपमा बन्द गरिएको भन्दै उनले सदस्यको बचतको सुरक्षालाई संस्थाले प्राथमिकतामा राखेको जानकारी दिए ।

संस्थाका सचिव अंकुरप्रसाद सापकोटाले आर्थिक बर्ष २०८२।८३ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले कार्यक्षेत्रभित्रका सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको बताए । सचिव सापकोटाले विनियम संशोधन तथा नीति नियम व्यवस्थापन लगायतका प्रस्ताव सभामा लगेका थिए भने सभाले सो प्रस्तावलाई वहुमतले पारित गरेको थियो । सभामा कोषाध्यक्ष हरिनारायण श्रेष्ठले आर्थिक बर्ष २०८२।८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १० करोड ४८ लाख १५ हजार, बचत संकलन ९९ करोड ४५ लाख ६४ हजार, ऋण लगानी ८८ करोड ९९ लाख ४९ हजार ,जगेडा कोष ७ करोड ९४ लाख ५३ हजार र अन्य कोषमा १ करोड ८५ लाख १३ हजार पुगेको बताए । संस्थाले खरखाँचो,कृषि,व्यापार, पशुपालन,कृषि, घर निमार्ण, जग्गा खरिद, उद्योग, वैदेशिक रोजगार र अन्य क्षेत्रमा ऋण लगानी गर्दै आएको उनले सभामा जानकारी दिए । सभामा एस.इ.इ. सम्मान जेष्ठ सदस्य, असल ऋणी, असल बचतकर्ता,अधिक शेयर खरिद, साधारण बचत, उत्कृष्ट कर्मचारी लगायत विभिन्न विधामा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष हुमागाईको सभापतित्वमा सम्पन्न उक्त सभामा नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । सभामा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *