साओमीले बाढीपीडितका लागि दियो घरायसी सामग्री
काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले साओमी नेपालले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ । ‘साओमी फर कम्युनिटी’ अन्तर्गत २०० वटा राहत सामग्रीका सेट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको छ । हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले कम्पनीले राहतस्वरूप आवश्यक भान्साका सामग्रीसहितका २०० सेट सहयोग गरेको हो । प्रत्येक राहत सेटमा १ वटा प्रेसर कुकर, १ वटा कराइ, ५ वटा प्लेट, ५ वटा चम्चा, ६ वटा कप, ५ वटा कचौरा र १ वटा थर्मस बोतल समावेश गरिएको छ ।
यसरी २०० सेटमार्फत बाढीपहिरो प्रभावित परिवारका लागि दैनिक खाना पकाउन तथा खानपिनका लागि आवश्यक घरायसी सामग्री उपलब्ध गराइएको छ । कुल २०० सेटमा २०० वटा प्रेसर कुकर, २०० वटा कराइ, १,००० वटा प्लेट, १,००० वटा चम्चा, १,२०० वटा कप, १,००० वटा बाउल र २०० वटा थर्मस बोतल रहेका छन् । ‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किने क्रममा केही राहत र सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि पनि भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो । पछिल्लो राहत सामग्री वितरणसँगै कम्पनीले बाढीपहिरोबाट प्रभावित समुदायको तत्कालीन आवश्यकतामा सहयोग पुर्याउने प्रयासलाई निरन्तरता दिएको हो ।

















