भारी वर्षाको पूर्वानुमानपछि सरकारको आग्रह, ‘अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात छ, बढी सञ्चय नगर्नू’

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षाको पूर्वानुमान गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात रहेको जनाएको छ। मन्त्रालयले उपभोक्तालाई आवश्यकताभन्दा बढी सामान सञ्चय नगर्नसमेत आग्रह गरेको छ। विभागले असोज ८ देखि ११ गतेसम्म विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सूचना जारी गरेको सन्दर्भमा मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै आपूर्ति व्यवस्था सुदृढ रहेको जनाएको हो। मन्त्रालयका अनुसार सम्भावित प्राकृतिक विपद् र नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी अत्यावश्यक वस्तुको आवश्यक मौज्दात कायम राख्न तथा आपूर्ति शृङ्खला सुदृढ बनाउन सरकारी तथा निजी क्षेत्रका आपूर्ति सम्बद्ध संस्था र व्यवसायीसँग समन्वय भइरहेको छ। राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त खाद्यान्न मौज्दात रहेको तथा बजारमा खाद्यान्नलगायत दैनिक अत्यावश्यक वस्तुको बिक्री वितरण सहज भइरहेको मन्त्रालयको भनाइ छ। बाढी, पहिरो वा अन्य कारणले प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भए सडक विभाग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिने तयारी गरिएको छ। मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले दैनिक अत्यावश्यक वस्तु सुपथ मूल्यमा सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको भन्दै माग, आपूर्ति र मूल्यमा प्रतिकूल असर पर्न नदिन उपभोक्तालाई अनावश्यक सञ्चय तथा भण्डारण नगर्न आग्रह गरेका छन्। मन्त्रालयले विपद् र चाडपर्वको मौका पारेर कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि वा वस्तु लुकाउने गतिविधि रोक्न सूचना सङ्कलन र बजार अनुगमन थप सघन बनाइएको जनाएको छ। यस्ता गतिविधि देखिए सम्बन्धित निकायमा जानकारी गराउनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *