इसेवा र सिटिजन्स बैंकको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागी स्वावलम्बन कर्जा’ सुरु
काठमाण्डौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो सुविधामार्फत योग्य अपाङ्गता भएका व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार यसबाट कर्जा प्रक्रियामा लाग्ने कागजी काम तथा भौतिक उपस्थितिको आवश्यकता कम गरी वित्तीय पहुँच सहज बनाउने उद्देश्य राखिएको छ। यस सुविधाअन्तर्गत १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत रहेको छ। योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’मार्फत आवेदन दिन सक्नेछन्।
कर्जाका लागि इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुनेलगायतका सर्त राखिएका छन्। अन्तिम कर्जा स्वीकृति भने बैंकको मूल्याङ्कन र लागू सर्तअनुसार हुने जनाइएको छ। इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिमार्फत अपाङ्गता भएका व्यक्तिको कर्जामा पहुँच सरल बनाउने उद्देश्यले सुविधा ल्याइएको बताए। उनले कुनै पनि व्यक्तिको वित्तीय पहुँच शारीरिक अवस्थाका कारण सीमित हुन नहुने बताए। सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले यस सहकार्यले अपाङ्गता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्दै व्यक्तिगत तथा आर्थिक आवश्यकतामा सहयोग पुर्याउने अपेक्षा गरिएको बताए। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था तथा अपाङ्गता भएका व्यक्तिका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।

















