साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड, नुनदेखि तेलसम्म सहुलियत मूल्यमा
काठमाण्डौं । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बागलुङमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ शाखाले असोज ५ गतेदेखि सञ्चालनमा ल्याएको पसलमा दैनिक ५०० जनासम्म उपभोक्ता आउने गरेका छन्। शाखाले चिनी, नुन, दाल, चिउरा, मैदा, तोरीको तेल र आटालगायत खाद्य सामग्री सहुलियत मूल्यमा उपलब्ध गराइरहेको छ। चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यमा केही सहुलियत पाउँदा राहत मिलेको उपभोक्ताले बताएका छन्।
उपभोक्ता सन्जय शर्माले खाद्य सामग्रीमा दिइएको सहुलियतले चाडपर्वका बेला केही राहत पुगेको बताए। साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठका अनुसार दशैँ, तिहार र छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन गरिएको हो। बजारमा मूल्य बढिरहेका चिनी, नुन र तेललगायत दैनिक उपभोग्य वस्तु छुटसहित उपलब्ध भएपछि उपभोक्ता लाइनमा बसेर सामग्री खरिद गरिरहेका छन्। कार्यालयले बिलसहित कारोबार गरिरहेको जनाएको छ। कर्पोरेशनले बागलुङमा हरेक वर्ष चाडपर्वका समयमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। यस वर्षको सुपथ मूल्य पसल आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ।
















