चण्डेश्वरी साकोसको ३४ औं साधारण सभा, अध्यक्षमा मानन्धर

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवीनभक्त बादे श्रेष्ठको सभापतित्व र बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष नविनभक्त वादे श्रेष्ठले काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले समुदायमा आधारित भएर सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको बताए । उनले सहकारी केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र नभई समाजमा छरिएर रहेको स सानो पुँजीलाई संकलन गरी समाजको आर्थिक सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा लगानी गर्दै आएको बताए । सानो पँुजीबाट आरम्भ भएको संस्थामा ११ हजार ५५९ सदस्य र १ हजार ११३ बाल सदस्य आवद्ध भएको उनले सभामा जानकरी दिए । सहकारी मुल्य,मान्यता र सिद्धान्तमा आधारित भई संस्थाले सहकारी ऐन नियम र निर्देशनहरुलाई पालना गर्दै अगाडि बढेको उनले बताए । सहकारीबाट लिएको ऋणलाई समयमा तिर्न आग्रह गर्दै उनले समयमा साँवा ब्याज भुक्तानी गर्ने सदस्यलाई विभिन्न सुविधा दिँदै आएको समेत उनको भनाई छ । सचिव बुद्धरत्न मानन्धरले आ.व. २०८२।०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित नीति तथा कार्यक्रमसभामा प्रस्तुत गरेका थिए । सभामा कोषाध्यक्ष गणेश कुमार रंजितले आर्थिक वर्ष २०८२।०८३ को आर्थिक प्रगति प्रतिवदेन तथा चालु आर्थिक वर्षको प्रस्तावित आर्थिक कार्यक्रम तथा बजेट सभामा प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुँजी ११ करोड ६१ लाख, बचत संकलन १ अर्ब २५ करोड ३५ लाख, ऋण लगानी ९० करोड ९४ लाख गरी २ करोड ५८ लाख खुद बचत गरेको उनले सभामा जानकारी दिए । सभामा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरिएको थियो । सभाले तथा आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदनका आधारमा शेयर सदस्यहरूलाई ७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णयसमेत सर्वसम्मत रूपमा पारित गरेको छ । सभाका अवसरमा वर्षभरि संस्थासँग गरिएको बचत तथा ऋण कारोबारका आधारमा ५ जना उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी, संस्थाका संस्थापक अध्यक्ष स्व. ज्योतिप्रकाश सैंजु स्मृति कोष अन्तर्गतको एसईई छात्रवृत्ति कार्यक्रमबाट ४ जना विद्यार्थीलाई जनही रु.१०,००० बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो भने संस्थाका २९ जना बाल बचतकर्तालाई एसईई सम्मान प्रदान गरिएको थियो ।


नयाँ सञ्चालक समिति चयन
सभाले बुद्धरत्न मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा पुर्ण पोटे, सचिवमा सुरेन्द्र प्रजापति, कोषाध्यक्षमा जितेन्द्र भक्त पोटे चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा गणेश कुमार रंजित, रुकमणि देबि राजभण्डारी, मनोहरी पोटे, लक्ष्मि श्रेष्ठ र सुवनकुमार प्रधान चयन भएका छन्। संस्थाको लेखा सुपरीक्षण समिति संयोजकमा रोशना राजवंशी र सदस्यहरुमा कृष्णेश्वरी श्रेष्ठ र गोपाल श्रेष्ठ निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ । अध्यक्ष बुद्धरत्न मानन्धरले आफ्नो कार्यकालमा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै संस्थाका संस्थापक, पूर्व सञ्चालक समिति तथा उपसमितिका सदस्यहरू, सल्लाहकारहरू र पूर्व कर्मचारीहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *