कांग्रेस महाधिवेशन मतदान भोली बिहान ७ बजेदेखि ३ बजेसम्म
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । जारी महाधिवेशनमा २९७ पदका लागि ८५० जनाले उमेदवारी दर्ता गराएका छन् । बन्दसत्र बुधबार नै सकिए पनि मतपत्र छपाइलगायत व्यवस्थापनमा भएको ढिलाइले मतदान शुक्रबारका लागि सारिएको हो । शुक्रबार हुने मतदानका लागि सात स्थान तोकिएको छ । प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ । निर्वाचन प्रक्रियाको समग्र व्यवस्थापन गरिरहेका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठका अनुसार, एक व्यक्तिलाई मत हालीसक्न आधा घण्टा लाग्नेछ । एकैपटकमा २५० जनासम्मले भोट हाल्ने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले उमेदवारीमा दाबी विरोधसहितका विषय टुंग्याएर बुधबार राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिएको बताए । उनका अनुसार, अन्तिम नामावली प्रकाशन गरिसकेपछि बिहान १० बजेका लागि मतदानको समय तोकिए पनि मतपत्र व्यवस्थापन नहुँदा पटकपटक निर्वाचन समितिले मतदानको समय सार्नुपरेको हो । गए राति ११ बजे अन्तिम नामावली सार्वजनिक गरेर बिहान १० बजेदेखि मतदान भनेका थियौँ, कटवालले भने, मतपत्रका कारण सुरू हुन सकेन । २३ वटा मतपत्र डिजाइन र छपाइमा समय लागेर भर्खरै मतपत्र पायौँ । उनले सुरक्षालगायतका कारणले राति मतदान सुरु नगरेको बताए । रातको समयमा गर्दा सुरक्षा चुनौतीसहितका कारण भोलि बिहान ७ बजेदेखि मात्र सुरू हुन्छ, उनले भने, बिहान ७,३ बजेसम्म मतदानको समय तोकेका छौँ । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतपत्रमा हस्ताक्षर गर्न पनि समय लाग्ने बताए । मतपत्रमा सिंग्नेचर चाहिन्छ । मैले मात्र नभएर ३२ जना सही गर्न बसेका छन् । उनीहरूले हस्ताक्षर गरिसक्न ११ बजेसम्म लाग्छ, खड्काले भने, त्यसकारण भोलि मात्र गरौँ, ७ बजेबाट गरौँ भनेको हो । धाँधलीको प्रश्न नउठ्ने गरी गरौँ भनेर सारेका हौँ ।

















