घटस्थापनादेखि फूलपातीसम्म जुनसुकै ग्यास सिलिन्डर साट्न सकिने
काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीहरूले दशैंमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकामा फरक–फरक कम्पनीका सिलिन्डरबीच आपसी साटासाटको व्यवस्था लागू गर्न सहमत भएका छन्। यो व्यवस्था कार्यान्वयनमा आएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीकै सिलिन्डर खोजिरहनुपर्ने बाध्यता हट्नेछ। निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले बजारमा विभिन्न ब्रान्डका सिलिन्डर प्रयोग भइरहेकाले कतिपय उपभोक्ता ग्यास उपलब्ध हुँदाहुँदै पनि आफ्नो सिलिन्डरको ब्रान्ड नमिल्दा समस्यामा पर्ने गरेका छन्। विशेषगरी एउटा मात्र सिलिन्डर भएका परिवारलाई चाडपर्वका बेला ग्यास खोज्दै पसल–पसल धाउनुपर्ने बाध्यताबाट राहत दिन जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सकिने व्यवस्था मिलाउन पहल गरिएको हो। यस व्यवस्थाअनुसार फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। यस व्यवस्थालाई प्रभावकारी बनाउन ग्यास उद्योगी तथा बिक्रेताहरूबीच भएको छलफलपछि पहिलो चरणमा काठमाडौँ उपत्यकाका पाँच प्रमुख स्थानमा संयुक्त साटासाट केन्द्र तोक्ने प्रारम्भिक सहमति भएको छ । यो सहमतिअनुसार घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका उपभोक्ताले पाँच स्थानबाट आफूसँग भएको सिलिन्डर अन्य ब्रान्डको सिलिन्डरसँग निःशुल्क रूपमा साटेर तोकिएको मूल्यमा भरिएका सिलिन्डर पाउन सक्नेछन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले सिलिन्डर साट्न पाउनेछन् । यो विशेष सुविधा घटस्थापनादेखि फूलपातीसम्म उपलब्ध गराउने तयारी गरिएको छ । यस अवधिमा काठमाडौं उपत्यकामा बजारीकरण हुने कुनै पनि कम्पनीको खाली सिलिन्डर लिएर जाने उपभोक्तालाई प्रतिव्यक्ति एक सिलिन्डरका दरले उपलब्ध ब्रान्डको भरिएको सिलिन्डर साट्न दिइनेछ । सिलिन्डरको सम्भावित दुरुपयोग रोक्न र डिलर वा अन्य व्यापारीले नभई वास्तविक उपभोक्ताले मात्र सुविधा पाऊन् भन्ने सुनिश्चित गर्न सेवा लिन आउने व्यक्तिको पहिचान खुल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राखिनेछ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार एउटा कम्पनीको खाली सिलिन्डर अर्को कम्पनीले अस्थायी रूपमा स्वीकार गर्ने र पछि उद्योगहरूले आपसी समन्वयमा सिलिन्डर व्यवस्थापन गर्नेछन् । यो सुविधा नियमित व्यावसायिक कारोबारका लागि नभई चाडपर्वमा ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई तत्काल राहत दिन केन्द्रित हुनेछ।

















