नवरात्रमा राष्ट्रपति पौडेलले गरे उपत्यकाका नौ शक्तिपीठको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रको अवसरमा काठमाडौं उपत्यकाका नौ वटा शक्तिपीठमा पुगेर पूजाआराधना गरेका छन्। पौडेलले आज काठमाडौंस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी मन्दिरमा पुगेर दर्शन तथा पूजाआराधना गरेका हुन्। शक्तिपीठको दर्शनका क्रममा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट टीका र प्रसाद ग्रहण गरेका थिए। धार्मिक आस्थाको केन्द्र मानिने यी शक्तिपीठमा नवरात्रका बेला भक्तजनको विशेष चहलपहल हुने गर्छ। राष्ट्रपति पौडेलसँग शक्तिपीठहरूको दर्शन तथा पूजाआराधनाका क्रममा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन्।
















