कामना सेवा बैंकको डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली केएस मित्र सार्वजनिक गरेको छ । ग्राहकले बैंकको आधिकारिकमा उपलब्ध आस्क मित्र आइकन मार्फत वा इमेल ksmitra@kamanasewabank.com मार्फत वा सिधै वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा आफ्नो गुनासो सम्बन्धी जिज्ञासा राख्न सक्ने बैंकले जनाएको छ । केएस मित्रमार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवा बारे जानकारी लिन, खाता सम्बन्धी जानकारी तथा गुनासो जाहेर गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंकका शाखा र सम्पर्क नम्बर, बैंकका सेवा तथा सुविधाहरू, ब्याजदर, सेवा–शुल्क र अन्य सामान्य जानकारी सजिलै पाउन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट, केवाईसीलगायतका जानकारी पनि लिन सक्नेछन् । त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेशा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्ने जस्ता सेवाहरू पनि प्रदान हुनेछ । ‘यदि ग्राहकले यसमार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वचालित रूपमा टिकट जारी गरिनेछ, जसले ग्राहकका जिज्ञासा, सेवा अनुरोध र गुनासोको फलोअप गर्न र समाधान गर्न सजिलो हुनेछ’ बैंकले भनेको छ । यो सुविधा नेपालको बैंकिङ क्षेत्रमा नै नौलो र प्रभावशाली डिजिटल आयाम भएको बैंकले जनाएको छ । डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने बैंकको प्रयास अन्तर्गत केएस मित्र सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *