पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको बताएका हुन् । समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने कानुनी बाटो हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारलाई हतोत्साहित पार्नु विधिको शासनविपरीत भएको उनको भनाइ छ ।

‘प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,’ पौडेलले लेखेका छन् । उनले पक्राउ गरिएका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गर्न, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप र निगरानी बन्द गर्न तथा कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन । यसअघि पनि गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको उल्लेख गर्दै उनले त्यही प्रवृत्ति राज्यसंयन्त्रबाटै दोहोरिनु लज्जास्पद र अस्वीकार्य भएको बताएका छन् । आफ्ना कमजोरी छोप्न सञ्चारमाध्यमलाई तर्साउने प्रयास तत्काल रोक्न पनि उनले सरकारलाई सचेत गराएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *