मनाङमा भारी वर्षा, आज अपराह्नदेखि देशभर वर्षा कम हुने

काठमाडौं । पछिल्लो २४ घण्टामा मनाङमा धेरै भारी वर्षा भएको छ । आज बिहान ६ः२४ बजेको विवरण अनुसार मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा १०० मिलिमिटर भन्दा धेरै र २०० मिलिमिटर भन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भन्ने गरिन्छ । २०० मिलिमिटर भन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ । बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेकाले देशभर वर्षा भइरहेको छ । अहिले अधिकांश स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश र कर्णाली प्रदेशका एक,दुई स्थानमा भारी वर्षा पनि मापन भएको छ ।

शुक्रबार राति १० बजेको विवरण अनुसार ३ घण्टा अवधिमा सबैभन्दा धेरै वर्षा मुगुको ताल्चामा ७६.९ मिलिमिटर वर्षा मापन भएको थियो । यसैगरी राति ११ः१० बजेको विवरण अनुसार १ घण्टा अवधिमा सबैभन्दा धेरै सुर्खेतको रानीमत्ता केन्द्रमा ११.२ मिलिमिटर वर्षा मापन भएको थियो । मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा ५० मिलिमिटर भन्दा धेरै र १०० मिलिमिटर भन्दा कम पानी परेमा भारी वर्षा भएको मानिन्छ । आज पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू भागका एक,दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने पूर्वानुमान छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *