गरिमा विकास बैंकको नाफा २४ करोड

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा खुद नाफामा सामान्य संकुचन व्यहोरेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्त (पहिलो त्रैमास) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४.१७ प्रतिशतले घटेर २४ करोड १ लाख २४ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासमा बैंकले २५ करोड ५ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आउनु र अन्य सञ्चालन आम्दानी खुम्चिनुले नाफामा दबाब परेको हो । यद्यपि, सम्भावित कर्जा जोखिम बापत छुट्याइने कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको कमी र खुद फि तथा कमिसन आम्दानीमा भएको आकर्षक वृद्धिले नाफामा ठूलो गिरावट हुनबाट भने रोकेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज २३.६८ प्रतिशतले घटेर २५ करोड ४२ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यवस्था ३३ करोड ३१ लाख ९३ हजार रुपैयाँ रहेको थियो । कर्जा नोक्सानी व्यवस्था ७ करोड ८९ लाख रुपैयाँले घटे पनि आम्दानीका अन्य स्रोतमा संकुचन आउँदा बैंकको सञ्चालन मुनाफा ४.३४ प्रतिशतले घटेर ३४ करोड २१ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस्तो मुनाफा ३५ करोड ७६ लाख २४ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानीमा ७.७९ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९९ करोड ८५ लाख ९४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा घटेर ९२ करोड ८ लाख १४ हजार रुपैयाँमा खुम्चिएको छ । यस अवधिमा बैंकको ब्याज आम्दानी ११.२८ प्रतिशतले घटेर २ अर्ब ५ करोड ३३ लाख रुपैयाँबाट १ अर्ब ८२ करोड १७ लाख ३३ हजार रुपैयाँमा झरेको छ भने ब्याज खर्च १४.५९ प्रतिशतले घटेर १ अर्ब ५ करोड ४७ लाख रुपैयाँबाट ९० करोड ९ लाख रुपैयाँ कायम भएको छ । उता गैर(ब्याज आम्दानीतर्फ भने बैंकको खुद फि तथा कमिसन आम्दानी ३३.३१ प्रतिशतले बढेर १५ करोड २४ लाख ९४ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको पहिलो त्रैमासमा ११ करोड ४३ लाख ८९ हजार रुपैयाँ थियो ।

यस्तै खुद ट्रेडिङ आम्दानी ५८ लाख ८५ हजार रुपैयाँ आर्जन भएको छ । व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा प्रवाह दुवैमा सकारात्मक वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्य (असार मसान्त २०८३) को तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप ३.११ प्रतिशतले बढेर ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँबाट १ खर्ब १ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा ग्राहक कर्जा प्रवाह पनि २.५७ प्रतिशतले बढेर ७८ अर्ब २१ करोड ५६ लाख रुपैयाँबाट ८० अर्ब २२ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । कर्जाको गुणस्तर अर्थात् सम्पत्तिको अवस्थामा भने केही दबाब देखिएको छ । बैंकको कुल निष्कृय कर्जा (एनपिएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ४.७३ प्रतिशतबाट बढेर चालु आवको पहिलो त्रैमासमा ४.८१ प्रतिशत पुगेको छ । खराब कर्जा सामान्य बढेका कारण कुल निष्कृय कर्जामा नोक्सानी व्यवस्थाको कभरेज गत वर्षको सोही अवधिको १२०.७२ प्रतिशतबाट घटेर १०४.०९ प्रतिशतमा झरेको छ । बजारको ब्याजदर घट्दो चक्रमा रहेका कारण बैंकको फण्ड लागत, आधार दर र स्प्रेड दर संकुचित बन्दै गएका छन् । बैंकको निक्षेपको लागत (कस्ट अफ फण्ड) ४.४२ प्रतिशतबाट घटेर ३.४६ प्रतिशतमा र आधार दर (बेस रेट) ६.३९ प्रतिशतबाट घटेर ५.१८ प्रतिशतमा झरेको छ । बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि गत आवको ४.५९ प्रतिशतबाट घटेर ४.०५ प्रतिशतमा सीमित भएको छ । बैंकको कर्जा,निक्षेप अनुपात (सीडी रेसियो) ८४.१८ प्रतिशत कायम भएको छ । नाफा खुम्चिएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ५० पैसामा सीमित भएको छ । यस्तै बैंकको स्वपुँजीमा प्रतिफल (वार्षिकीकृत आरओई) १०.७१ प्रतिशतबाट घटेर ९.१५ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल (वार्षिकीकृत आरओए) ०.९६ प्रतिशतबाट घटेर ०.८४ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बजारमा प्रतिसेयर अन्तिम कारोबार मूल्य ४१५ रुपैयाँ रहँदा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २८.६२ गुणा कायम भएको छ । हाल ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको गरिमा विकास बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ६८ पैसा, पुँजी पर्याप्तता अनुपात (सीएआर) १२.८४ प्रतिशत र तरलता अनुपात २५.९१ प्रतिशत रहेको छ । चालु आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ८ करोड ३२ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *