श्री जमुनी गणेश साकोसको १४औँ वार्षिक साधारणले ३.७५ प्रतिशत लाभांश पारित
श्री जमुनी गणेश बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपाल बिष्टको अध्यक्षता तथा अतिथि रामबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम, बजेट, लेखा समितिका प्रतिवेदनलगायतका महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरी छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । साथै, संस्थाको मुनाफाबाट सदस्यहरूलाई ३।७५ प्रतिशत शेयर लाभांश वितरण गर्ने तथा संरक्षित पुँजी फिर्ता कोष अन्तर्गत कुल रकमको ४० प्रतिशत बचत कारोबार र ६० प्रतिशत ऋण कारोबारका आधारमा सदस्यहरूलाई वितरण गर्ने प्रस्तावसमेत पारित गरिएको छ। सभाको अवसरमा संस्थाले आफ्ना सदस्यहरूको योगदान, नियमित बचत गर्ने बानी, असल ऋण कारोबार तथा शैक्षिक उपलब्धीको कदर गर्दै विभिन्न विधामा सम्मान गरेको थियो । सभामा उत्कृष्ट नियमित बचतकर्तातर्फ मनकुमारी लामा, उत्कृष्ट ऋणीतर्फ बालकुमारी कार्की , उत्कृष्ट बाल बचतकर्तातर्फ सिअस खत्री , उत्कृष्ट महिला ज्येष्ठ सदस्यतर्फ सीता देवी कटुवाल,उत्कृष्ट पुरुष ज्येष्ठ सदस्यतर्फ बलराम खत्री, उत्कृष्ट कर्मचारीतर्फ सीता लामा र उत्कृष्ट एस.ई.ई.तर्फ अभिषेक बिष्ट सम्मानित भएका छन् ।
नयाँ सञ्चालक समिति चयन
संस्थाको आगामी ४ बर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति निर्वाचन भएका छन् । संस्थाको अध्यक्षमा ईश्वर खड्का, उपाध्यक्षमा कर्णबहादुर थापा क्षेत्री, सचिवमा सुमानी तामाङ र कोषाध्यक्षमा विवेक के.सी निर्वाचित भएका छन् । त्यसैगरी सञ्चालकहरु शालिकराम महत, श्यामकाजी बिष्ट, पवन कार्की, सजिना बुढाथोकी र राजकुमार तामाङ निर्वाचित भएका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा कुमार थापा र सदस्यहरुमा सन्तकुमार तामाङ र बबिता खड्का निर्वाचित भएका छन् । जिल्ला बचत संघ, काभ्रेका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालको संयोजकमा निर्वाचन उपसमिति गठन गरिएको थियो । समितिको सदस्यमा लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी र संस्थाका सल्लाहकार जगन्नाथ के.सी. रहेका थिए । निर्वाचन उपसमितिका संयोजक ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । सभामा संस्थाका कुल १ हजार १७२ जना शेयर सदस्यहरूमध्ये ७२७ जना अर्थात् ६२.०४ प्रतिशत सदस्यहरूको उपस्थिति रहेको थियो।

















