जनकपुर बोल्ट्सद्धारा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित
काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ । जनकपुरले दिएको १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो । यस जितसँगै जनकपुरले जारी प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । तीन खेल खेलेको जनकपुरको यो दोस्रो जित हो । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । जनकपुरका लागि तृतराज दासले अर्धशतकीय पारी खेले ।
उनले ५५ बलमा ७ चौका र २ छक्कासहित ६१ रन बनाए । यस्तै, मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रनको योगदान दिए । जिमी नीशम ११ रनमा आउट भए । अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले । पोखरा एभेन्जर्सका लागि बलिङतर्फ शाकिब अल हसनले चार ओभरमा १५ रन दिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, चमिका करुणारत्नेले २ तथा मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान १–१ विकेट लिए । जारी संस्करणमा जनकपुर दोस्रो जितको हो । उसले पहिलो खेलमा हार बेहोर्दा दोस्रो खेलमा जित निकालेको थियो । कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखराको यो दोस्रो हार हो । उसले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो ।

















