नेपाल लाइफको रेटिङ बढेर डबल ए मा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रेटिङमा स्तरोन्नति भएको छ । रेटिङ प्रदान गर्ने कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको वित्तीय विवरणका आधारमा डबल ए रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको लगानीमा जोखिम घटेको अर्थ दिन्छ । यसअघि इक्रा नेपालले कम्पनीलाई डबल ‘ए’ माइनस रेटिङ प्रदान गरेको थियो । इक्रा नेपालका अनुसार, कम्पनीको सोल्भेन्सी अनुपातमा सुधार, लगानीको विविधीकरण र बजारमा बलियो उपस्थितिका कारण रेटिङ बढाइएको हो । कम्पनीको सोल्भेन्सी अनुपात सन् २०२५ जुलाई मध्यमा १५४ प्रतिशत पुगेको छ । यो नियामकीय न्यूनतम सीमा १३० प्रतिशतभन्दा बढी हो । कम्पनीले बैंकको मुद्दती निक्षेपमा रहेको लगानी घटाएर सरकारी ऋणपत्रमा बढाएको छ । सन् २०२६ जुलाई मध्यसम्म कुल लगानीमध्ये सरकारी ऋणपत्रमा करिब १८ प्रतिशत र मुद्दती निक्षेपमा ७६ प्रतिशत लगानी रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ । यसअघि मुद्दती निक्षेपमा निर्भरता बढी थियो ।
नेपाल लाइफ जीवन बिमा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी बजार हिस्सा भएको कम्पनी हो । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीका १९६ शाखा सञ्चालनमा छन् । आर्थिक वर्ष २०२५।२६ मा कम्पनीको कुल बिमाशुल्क आम्दानी ५४ अर्ब तीन करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४८ अर्ब २० करोड रुपैयाँ थियो । तर, घट्दो लगानी प्रतिफल कम्पनीका लागि चुनौती बनेको इक्राको निष्कर्ष छ । कम्पनीको लगानी प्रतिफल आर्थिक वर्ष २०२३।२४ मा १०.१ प्रतिशत रहेकामा २०२४।२५ मा ९.४ प्रतिशत र २०२५।२६ मा ८.१ प्रतिशतमा झरेको छ । कम्पनीको नाफा पनि घटेको छ । आर्थिक वर्ष २०२४।२५ मा दुई अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०२५।२६ मा प्रारम्भिक वित्तीय विवरणअनुसार ४६ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ । बिमांकीय मूल्यांकनअघिको उक्त नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य कम हो ।

















