ऋण नतिरेपछि गोरखा डिपार्टमेन्ट स्टोरलाई हिमालयन बैंकको ३५ दिने अल्टिमेटम

काठमाडौं । गोर्खा डिपार्टमेन्ट स्टोरले कर्जा नियमित नगरेपछि बैंकले धितो लिलामीका लागि प्रक्रिया अगाडि बढाएको छ । हिमालयन बैंक लिमिटेडले इटहरी शाखाबाट कर्जा लिएर लामो समयदेखि सावाँ,व्याज भुक्तानी नगरेको भन्दै पूर्वी नेपालकै पहिलो व्यावसायिक प्रतिष्ठान ‘गोरखा डिपार्टमेन्ट स्टोर’ विरुद्ध ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । यो स्टोरलाई यसअघि पनि बैंकले ऋण तिर्नका लागि ताकेता गर्दै आएको थियो । बैंकको केन्द्रीय कर्जा असुली विभाग, कमलादीले सूचना जारी गर्दै तोकिएको म्यादभित्र सम्पूर्ण बक्यौता चुक्ता नगरे धितोमा राखिएका घरजग्गा तथा विलासी सवारी साधनहरू लिलाम बिक्री गरी असुलउपर गर्ने र ऋणीहरूलाई कालोसूचीमा राख्ने चेतावनी दिएको हो । बैंकका अनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरमा दर्ता रहेको गोरखा डिपार्टमेन्ट स्टोरकी प्रोप्राइटर अञ्जु खत्री हुन् भने कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको गोरखा गौशाला तथा कृषि उपजका मुख्य सञ्चालक सन्तोष आचार्य हुन् । यी दुई व्यावसायिक फर्मको ऋणमा सन्तोष आचार्य, अञ्जु खत्री, बलराम आचार्य खत्री र शुशिल आचार्य व्यक्तिगत जमानीकर्ताका रूपमा रहेका छन् । कर्जा सम्झौताका सर्त र बन्देज उल्लंघन गर्दै पटक,पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत ऋणी पक्षले भुक्तानीमा बेवास्ता गरेपछि बैंक कानुनी कारबाहीको प्रक्रियामा अघि सूचनामा उल्लेख छ । कर्जा असुलीका लागि ऋणी र जमानीकर्ताहरूका नाममा रहेका ठूलो परिमाणको चल,अचल सम्पत्ति बैंकको धितो सुरक्षणमा रोक्का रहेका छन् ।

जसअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका, हाँसपोसा, बकलौरी (हाल रामधुनी), एकम्बा तथा मोरङको दुलारी र मधुमल्ला क्षेत्रमा फैलिएका दर्जनौँ कित्ताका थुप्रै बिघा जग्गा र घरहरू रहेका छन् । यसका साथै गोरखा डिपार्टमेन्ट स्टोरको स्वामित्वमा रहेका टोयोटा ल्यान्ड क्रुजर, किया सेल्टोस र टाटा इन्ट्रा गाडी समेत बैंकको धितोमा रहेका छन् । बैंकले सूचना प्रकाशित भएको ३५ दिनभित्र पाकेको सम्पूर्ण सावाँ, ब्याज, जरिवाना तथा अन्य दस्तुर चुक्ता गरी कर्जा फरफारक गर्न ऋणी तथा जमानीकर्ताहरूलाई निर्देशन दिएको छ । यदि तोकिएको म्यादभित्र दायित्व पूरा नगरेमा बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित ऐन,कानुन र धितो लिखत बमोजिम सम्पूर्ण सम्पत्ति लिलाम बिक्री गरिने तथा ऋणी एवं जमानीकर्ताहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिने बैंकले प्रस्ट पारेको छ । आचार्यले सुनसरीको इटहरीसहित पूर्वका विभिन्न पाँच सहरमा गोर्खा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएका छन् । पूर्व क्षेत्रमा डिपार्टमेन्ट स्टोर सञ्चालन गरेर सपिङ संस्कृतिको सुरुवात गर्ने श्रेय पाएका अचार्यको डिपार्टमेन्ट स्टोर आर्थिक संकटमा परेको हो । इटहरी चोकदेखि धरानजाने बाटोको पश्चिम तर्फको एउटा घरको भुइँतलाको ४ हजार स्क्वायर फिट भाँडामा लिएर आचार्यले २०५६ साल असारमा ४०–४५ लाखको लगानीमा गोर्खा डिपार्टमेन्ट स्टोरको सुरुवात गरेको विगत छ । त्यसअघि आचार्य झापाको चारआलीमा तत्कालीन व्यवसायी कैलाश शर्माको पसलका कामदार थिए । त्यसपछि उनले मोरङको कानेपोखरी बयरवनमा आफ्नो किराना पसल र खाद्यान्नको खरिद बिक्री गरेको पनि इतिहास छ । उनै आचार्यले २०५६ असारमा काठमाडौंमा पनि डिपार्टमेन्ट स्टोरको राम्रो विकास नभएको अवस्थामा इटहरीको चोकैमा गोर्खा डिपार्टमेन्ट स्टोर खोल्दा ‘डिपार्टमेन्टल स्टोर’को कन्सेप्ट पूर्वका लागि पहिलो बनेको थियो । १५ सयलाई रोजगारी दिएका आचार्यले स्टोरसँगसँगै गोर्खा किचन, गोर्खा होटल, गाई फार्म सञ्चालन गरिरहेका छन् । उनले गोर्खा ब्रान्डमा विभिन्न व्यवसाय पनि गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *