सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ – उपसभापति शर्मा

काठमाडौं । कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाएका छन्। पार्टीका तर्फबाट पत्रकार सम्मेलनमा सरकारको कार्यशैलीको आलोचना गर्दै शर्माले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने वा पत्रकारलाई ह्यारेस गर्ने काम स्वीकार्य नहुने बताएका छन्। उनले लोकतन्त्रको अवस्था मापन गर्ने एउटा महत्वपूर्ण आधार प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै भने, ‘कुनै देशमा लोकतन्त्र छ कि छैन भन्ने कुरा प्रेस स्वतन्त्रता कति छ भन्नेमा निर्धारण हुन्छ। लोकतन्त्रमा मिडियालाई ह्यारेस गरियो भने त्यो लोकतन्त्र रहँदैन।’ पत्रकारहरूसँग प्रश्न गर्दै शर्माले उनीहरूको हातमा कालोपट्टी नदेखिएको विषयसमेत उठाए। उनले भने, ‘तपाईंहरूको हातमा किन कालोपट्टी छैन ?’ शर्माले कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेपछि त्यसबारे प्रश्न उठाउनु अदालत, निर्वाचन आयोग र महाधिवेशन प्रतिनिधिहरूकै अपमान हुने तर्क गरे। उनले विशेष महाधिवेशनपछिको राजनीतिक प्रक्रियालाई लिएर उठिरहेका प्रश्नबारे आफ्नो धारणा राख्दै सरकारको प्राथमिकतामाथि समेत प्रश्न गरे। ‘यो बेलामा सरकारले गर्नुपर्ने के थियो र के गर्दैछ ? आईजी हटाउने अहिलेको प्राथमिकता हो ?’ भन्दै उनले सरकारको ध्यान जानुपर्ने विषय र भइरहेको गतिविधिबीच तालमेल नरहेको टिप्पणी गरे। उनले सिंहदरबार र बालुवाटारमा भइरहेका गतिविधिमाथि टिप्पणी गर्दै मतदाताले दिएको मतको सम्मान नभएको आरोप लगाए। ‘सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ।

मतदाताले दिएको मतको सम्मान छैन। ठीक ढंगले चलिरहेको छैन,’ शर्माले भने। सरकार पाँच वर्षसम्म चलोस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलहरूबीचको सम्बन्ध तथा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि प्रश्न उठाए। एक विचौलिया व्यक्तिको मोबाइल कब्जामा लिएपछि त्यसबाट प्राप्त सामग्री प्रधानमन्त्रीका सल्लाहकारसम्म कसरी पुग्यो भन्ने विषयमा पनि शर्माले गम्भीर प्रश्न गरेका छन्। ‘एक जनाको मोबाइल कब्जा गरेपछि त्यो किन प्रधानमन्त्रीको सल्लाहकारकहाँ पुग्यो ? यो कुन मर्यादाअनुसारको हो ? प्रधानमन्त्री कार्यालय श्रम शिविर हो ?’ उनले प्रश्न गरे। अडियो प्रकरणबारे बोल्दै शर्माले सार्वजनिक भएका अडियोहरू कपोलकल्पित र नियोजित रहेको दाबी गरे। उक्त प्रकरणमा संलग्न पात्रहरू समयक्रमसँगै खुल्दै जाने उनको भनाइ थियो। उनले नेतृत्वमाथि उठेका प्रत्येक प्रश्नको छानबिन गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै विवादित सबै विषयको निष्पक्ष र कानुनसम्मत अनुसन्धान हुनुपर्नेमा जोड दिए। ‘जे,जति प्रसंग उठेका छन्, यसको विधिसम्मत छानबिन होस्। आफ्नो वैधानिकताको सन्दर्भमा स्वतन्त्र, निष्पक्ष र विधिसम्मत छानबिन होस्,’ शर्माले भने।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *