आज कर्णाली सुदूरपश्चिम, चितवन र पोखरा खेल्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छन् । दुवै टोलीले समान चार अंक जोडे पनि कर्णाली रनरेटका आधारमा अगाडि छ । चार अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको कर्णालीले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । छैटौँ स्थानमा रहेको सुदूरपश्चिमले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ । टोली रनरेटका आधारमा पछाडि पर्दा छैटौँ स्थानमा छ ।
यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न १२ः३० बजे हुनेछ । आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सले खेल्दै छन् । खेलमा पोखरा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । हालसम्म तीन खेल खेलेको टोलीले जितको खाता खोल्न सकेको छैन । टोली अंकविहीन बन्दै तालिकाको पुछारमा छ । यता, चितवन भने दोस्रो जितको खोजीमा हुनेछ । तीन अंकका साथ तालिकाको सातौँ स्थानमा रहेको चितवनले समान एक जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । यी दुईबीचको खेल साँझ ५ बजे हुनेछ ।

















