आईसीएफसी फाइनान्सको सीईओमा अमित श्रेष्ठ नियुक्त
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कात्तिक १९ गते बसेको ३७९औँ बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनलाई कात्तिक २० गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गरिएको हो।यसअघि श्रेष्ठ कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारीमा थिए ।
अमित श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र दिल्ली विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको कार्यअनुभव छ । उनको अनुभवमा नेपाल एसबीआई बैंक लिमिटेडमा काम गरेको ६ वर्ष पनि समावेश छ । श्रेष्ठले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड (एफएमडीबीएल) को सञ्चालकका रूपमा समेत काम गरिसकेका छन् । उनलाई संस्थागत सुशासन, संस्थागत सञ्चालन, कर्जा व्यवस्थापन तथा संस्थागत व्यवस्थापनका क्षेत्रमा अनुभव रहेको छ ।

















