कांग्रेसले कार्यकर्ताबाटै उमेदवार चयन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह निर्वाचनमा उमेदवार छनोटदेखि जनतामाझ पुग्नेसम्मका कार्यक्रम अघि सार्ने भएको छ । पार्टीका नेता–कार्यकर्तालाई जनताको सुख–दुःखमा साथ दिन केन्द्रीय नेतृत्वले निर्देशन दिएको छ । सभापति गगनकुमार थापाले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम जनतामाझ पुर्याउन मङ्सिर महिनाभरि उक्त अभियान सञ्चालन गरिने भएको हो । सभापति थापाले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमै भनेका थिए, “कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्या समाधानका लागि तयार रहेको पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्नेछ । महाधिवेशनमा भएका समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्नेछ ।” पार्टीका संगठनात्मक तथा नीतिगत प्रस्तावलाई दस्तावेजका रूपमा तल्लो तहसम्म पुर्याउन पनि उनले निर्देशन दिएका छन् । कांग्रेस बदलिएको अनुभूति र सन्देश जनतामा पुर्याउने लक्ष्य लिएको छ ।
उमेदवार छनोटमा ‘प्राइमरी इलेक्सन’
कांग्रेसबाट स्थानीय तह र प्रदेशसभा सदस्यका उमेदवार बन्न पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था गरिँदै छ । कांग्रेसका क्रियाशील सदस्यहरूले ‘प्राइमरी इलेक्सन’मा निर्वाचितले स्थानीय तह र प्रदेशसभा सदस्यको उमेदवार बन्न पाउने व्यवस्था गर्न लागिएको हो । आठ लाखभन्दा बढी क्रियाशील सदस्यलाई आन्तरिक मतदानमा अनलाइनमार्फत सहभागी गराउने व्यवस्था कांग्रेसले गर्दै छ । सदस्यहरूको प्रत्यक्ष मत, सार्वजनिक मतसर्वेक्षण र प्राथमिक निर्वाचन पद्धतिका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको तयारी छ । सभापति थापाले पटक–पटक अन्य पार्टीसँग निर्वाचनमा गठबन्धन नगरी आफ्नै शक्तिमा चुनाव लड्ने धारणा राख्दै आएका छन् । पार्टीले आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै कार्यक्रम लिएर जनतामाझ जाने राजनीतिक संस्कार स्थापित गर्ने नीति लिएको छ । क्रियाशील सदस्यहरूको पूर्ण विवरण पार्टी केन्द्रसँग रहेकाले आन्तरिक निर्वाचन सञ्चालन गर्न समस्या नहुने कांग्रेसको तर्क छ । एनसी आईडीको प्रयोग गरेर उमेदवार छनोटका लागि ‘प्राइमरी इलेक्सन’ गर्ने तयारीमा कांग्रेस छ । अनलाइनमार्फत आन्तरिक निर्वाचन गर्न प्राविधिक रूपमा पनि तयारी भइरहेको पार्टीले जनाएको छ ।
कांग्रेसमा गुटको अन्त्य गर्ने प्रयास
सभापति थापाले महाधिवेशनको बन्दसत्रमा कांग्रेसभित्र गुटको अन्त्य भएको बताएका थिए । पूर्वसभापति शेरबहादुर देउवा समूह महाधिवेशनमा सहभागी नभएका बेला थापाले यस्तो धारणा राखेका हुन् । पार्टी संगठनमा थापाले नयाँ शैली र संरचना विकास गर्ने योजना अघि सारेका छन् । केन्द्रीय कार्यसमितिसहित समिति गठन गरेर पार्टी सञ्चालनको पद्धति परिवर्तन गर्ने उनको तयारी छ । उमेदवार छनोट, नेतृत्व विकास, आन्तरिक लोकतन्त्र र जनतासँगको सम्बन्धसमेत पुनर्संरचना गर्ने खाका उनले अघि सारेका छन् । अब उम्मेदवार चयन गर्दा गुट, पहुँच, संरक्षण वा आर्थिक प्रभावले काम नगर्ने कांग्रेस नेताहरूले बताउन थालेका छन् । योग्यता, योगदान, नैतिक आचरण र कार्यसम्पादनलाई आधार मानेर स्थानीय तह र प्रदेशसभा सदस्यका उम्मेदवार छनोट गर्ने कांग्रेसको तयारी छ । उपसभापति पुष्पा भुसालले कांग्रेसलाई जनताबाट अनुमोदित गराउने तयारी भइरहेको बताएकी छन् । भुसालले भनिन्, “नेपाली कांग्रेस महाधिवेशनबाट अनुमोदित भएको छ । अब जनताबाट अनुमोदन गर्न स्थानीय तहको चुनावको तयारी गर्दै छौँ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार लिएर जनताको माझमा गएर आउने चुनावका लागि अब नेपाली कांग्रेसले अनुमोदन गर्नुपनि जरुरी छ । १५औँ महाधिवेशनलाई आम जनताबाट पनि अनुमोदन गर्नु जरुरी छ ।” पहिलो चरणमा स्थानीय तहको निर्वाचनमार्फत पार्टीका नेता तथा उमेदवारलाई जनताबाट अनुमोदित गराउने तयारी कांग्रेसको छ । त्यसका लागि पार्टीले उम्मेदवार छनोटको विधि र मापदण्ड निर्माणलाई प्राथमिकतामा राखेको छ ।
उमेदवार छनोटमा राय दिन तीन निकाय
कांग्रेसले निर्वाचनको तयारी, नेतृत्व विकास र जनप्रतिनिधिको कार्यसम्पादनलाई व्यवस्थित बनाउन तीनवटा नयाँ निकाय गठन गरेको छ । पार्टीले लिडरसिप एकेडेमी, निर्वाचन ब्युरो र गभर्नेन्स इन्स्टिच्युट गठन गरेको हो । निर्वाचन ब्युरोले स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनका लागि आन्तरिक विश्लेषण तथा रणनीति निर्माण गर्नेछ । उपसभापति भुसाल नेतृत्वको निर्वाचन ब्युरोले पार्टीको देशव्यापी निर्वाचन डेटाबेस निर्माण गर्नुका साथै निर्वाचन तयारीलाई तथ्याङ्कमा आधारित र वैज्ञानिक बनाउने काम गर्नेछ । भुसालका अनुसार, उमेदवार छनोटका लागि परम्परागत पद्धतिभन्दा फरक विधि अपनाउने तयारी छ । गाउँबाटै र स्थानीय कार्यकर्ताको सहभागितामा सम्भावित उम्मेदवार छनोट गर्ने प्रक्रिया अघि बढाइनेछ । “हिजोको परम्परागत तरिकाबाट उम्मेदवार छनोट गर्नुभन्दा पनि गाउँबाटै, गाउँका कार्यकर्ताहरूबाटै छनोट गर्ने एउटा माध्यम रहनेछ । लिडरसिप एकेडेमीबाट पनि सम्भावित उम्मेदवारलाई तालिम दिनेछौँ,” उनले भनिन् । उनले निर्वाचन ब्युरोले जनप्रिय तथा समाजमा लोकप्रिय उमेदवार पहिचान गर्ने पनि बताइन् । “पोलिटिकल ब्युरोबाट पनि जनप्रिय, समाजप्रिय उम्मेदवारहरू को हुनुहुन्छ भन्नेमा पनि निर्वाचन ब्युरोले काम गर्छ,” उनले भनिन् । ब्युरोले स्थानीय तह, वडा र सातवटै प्रदेशमा निर्वाचन योजना बनाउनेछ । निर्वाचनको सम्भावित अवस्था, उमेदवारको लोकप्रियता र पार्टीको संगठनात्मक अवस्थाबारे तथ्याङ्क संकलन तथा विश्लेषण गरेर रणनीति तय गर्ने उसको जिम्मेवारी हुनेछ । त्यस्तै, नेतृत्व विकाससम्बन्धी पाठ्यक्रम लिडरसिप एकेडेमीले तयार गरिरहेको छ । एकेडेमीले उम्मेदवार बन्न चाहने नेताहरूका लागि आवश्यक न्यूनतम योग्यता, क्षमता र नेतृत्वसम्बन्धी आधार तय गर्नेछ । नीति प्रतिष्ठानअन्तर्गत रहने लिडरसिप एकेडेमीमा चाँडै नेतृत्व चयन गरिने कांग्रेसको तयारी छ । अर्कोतर्फ, स्थानीय तहमा निर्वाचित हुने आफ्ना जनप्रतिनिधिलाई नीति निर्माण, बजेट व्यवस्थापन तथा सुशासनका विषयमा सहयोग गर्न गभर्नेन्स इन्स्टिच्युट गठन गरिएको छ । कांग्रेस सभापति गगनकुमार थापाको राजनीतिक प्रस्तावमा पनि यस संस्थामार्फत जनप्रतिनिधिको क्षमता अभिवृद्धि र कार्यसम्पादन सुधार गर्ने विषय उल्लेख गरिएको छ । कांग्रेसले निर्वाचनको तयारीलाई उमेदवार छनोटमा मात्र सीमित नराखी नेतृत्व विकास, संगठनात्मक पुनर्संरचना र निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनसँग जोड्न खोजेको छ ।

















