अतिफ अस्लमको कन्सर्टको टिकट अब खल्तीबाटै किन्न सकिने
काठमाडौं । पाकिस्तानी गायक अतिफ अस्लमको आगामी कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकटिङ पार्टनरमा खल्ती बाइ आइएमई आबद्ध भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा कन्सर्ट आयोजना हुँदैछ । उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना चर्चित गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन् । दक्षिण एसियाली संगीत क्षेत्रमा लोकप्रिय अतिफ अस्लमका ‘ताजदार–ए–हरम’, ‘तेरे बिन’ र ‘दिल दियाँ गल्लाँ’ लगायतका गीत चर्चित छन् । उनको प्रस्तुति हेर्न नेपालसहित भारत तथा अन्य दक्षिण एसियाली देशबाट समेत दर्शक आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
डिजिटल टिकटिङ पार्टनरका रूपमा खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउन सहकार्य गरेको हो । यससँगै दर्शकले खल्तीको डिजिटल प्लेटफर्ममार्फत कन्सर्टको टिकट खरिद गर्न सक्नेछन् । यस सहकार्यबारे खल्तीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पुष्पराज न्यौपानेले अतिफ अस्लमजस्ता लोकप्रिय कलाकारको कन्सर्टसँग डिजिटल टिकटिङ पार्टनरका रूपमा जोडिन पाउँदा उत्साहित भएको बताए । उनले यस सहकार्यले दर्शकलाई टिकट खरिदमा सहज डिजिटल अनुभव प्रदान गर्नुका साथै मनोरञ्जन क्षेत्रमा डिजिटल सेवाको प्रयोग विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । खल्तीले डिजिटल भुक्तानीलाई मनोरञ्जन, पर्यटन, यात्रा लगायतका विभिन्न क्षेत्रमा विस्तार गर्दै आएको छ । अतिफ अस्लमको कन्सर्टसँगको सहकार्यले नेपालमा मनोरञ्जन क्षेत्रको डिजिटल रूपान्तरणलाई थप प्रोत्साहन गर्ने कम्पनीको अपेक्षा छ ।

















